लाइसेन्स छपाइ प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन सुरक्षण मुद्रण केन्द्रलाई मन्त्री खरेलको निर्देशन

लोकपथ
161
Shares

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम पारदर्शी र त्रुटिरहित बनाउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका छन् ।

शुक्रबार सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ कार्यको शुभारम्भ गर्दै मन्त्री खरेलले भ्रष्टाचारविरुद्ध सतर्क रहन आग्रह गरे । उनले समय समयमा सुरक्षण मुद्रण केन्द्र भ्रष्टाचारसँग जोडिने गरेको उल्लेख गर्दै खरिद प्रक्रियासहितका कार्यमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो संस्था पनि भ्रष्टाचारको विवादबाट मुक्त छैन । खरिद गरिएका सामानमा प्रश्न उठिरहेकै हुन्छ । त्यस कारण हामीले जोगिएर, तर दृढताका साथ काम गर्नुपर्छ । पारदर्शिताका साथ अघि बढ्यौँ भने देश र जनताको साथ रहन्छ ।’

मन्त्री खरेलका अनुसार सरकारले सुशासनलाई प्राथमिकतामा राखेको छ । उनले प्रधानमन्त्री सुशीला कार्कीको भनाइ उद्धृत गर्दै भने, ‘लाइसेन्स लिने कुरा जनताको जीवनसँग जोडिएको छ । हामीले लाइसेन्स वितरणलाई व्यवस्थित गर्न सक्यौँ भने पनि जनतामा सुशासनको प्रत्याभूति हुन्छ । सुशासनकै लागि जेनजी आन्दोलन भयो, त्यसमा धेरैले बलिदान दिए । त्यस कारण अहिले सुशासनको सुरुवात गर्न खोजिरहेका छौँ ।

गत भदौ अन्तिम सातामा भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मेशिनसहितका उपकरण आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ सुरु गरेको हो ।

विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारी चालक अनुमति पत्र छाप्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?