यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

लोकपथ
308
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार नेकपा एमालेको शिक्षा विभागद्वारा आयोजित ‘केपी शर्मा ओलीसँग अन्तरसंवाद’ विषायक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

ओलीले प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की मानवअधिकार आयोगमा बाहेक अन्त जागिर खान नमिल्ने मान्छे प्रधानमन्त्री बनेको दाबी गरे । त्यस्तै उनले संविधानले नचिनेको र संविधान मिचेर बनेको दाबी गर्दै यो सरकारलाई ‘हाहु’ को भरमा बनेको सरकारको संज्ञा दिए ।

‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा, प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन । मानव अधिकार आयोगमा बाहेक कुनै जागिरमा मिल्दैन,’ ओलीले भने, ‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो ।’

ओलीले डिस्कर्डका आधारमा मात्रै वर्तमान प्रधानमन्त्री बनेको भन्दै सभ्य समाजमा त्यसो हुन नसक्ने दाबी गरे ।

‘शासनमा डिस्कर्डबाट पुगेको अरे, दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छन् ?, डिस्कर्डबाट भोटिङ पनि गरेको अरे, २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गरेको रे,’ उनले भने ।

भदौ २४ गतेको जेनजी आन्दोलन र तोडफोडबाट बनेको सरकार कुनै जनअनुमोदनबाट नबनेको समेत दाबी गरे ।

‘२४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार यो कुनै संविधानअनुसार बनेको होइन जनअनुमोदनबाट बनेको होइन’ उनले भने, ‘यसको वैरभाव लोकतन्त्रसँग छ । संविधानसँग छ, जनताको प्रतिनिधित्वसँग छ, लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग छ, संसद र प्रतिनिधिसभासँग छ ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति कटाक्ष गर्दै अदृश्य रुपमा रहने व्यक्तिको समर्थनमा बनेको सरकार भन्दै कटाक्ष गरे ।

‘अदृश्य रहने, कमजोर, कुनै ग्राउन्ड नभएका, इतिहास न परम्पराको टेको, न जनसमर्थनको आधार केही पनि नभएका’ उनले भने, ‘हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा तोडफोड गरेको भरमा, अराजकता आतंक मच्चाएको भरमा आतंकारी अभ्यास गरेको भरमा बनेको सरकार,’ ओलीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?