राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा (एमाले)का गोपालप्रसाद भट्टराईलगायत नेताको सहभागिता रहेको थियो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाका समितिहरूको बैठक निरन्तर सञ्चालनमा ल्याउने तयारी अघि बढाइरहेका छन् । साथै उनले अधिवेशन आह्वानका लागि सरकार र राजनीतिक दलहरूसँग निरन्तर परामर्श गरिरहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानविद्हरूका अनुसार संघीय संसदको प्रतिनिधि सभा निर्वाचनलाई सहज र शान्तिपूर्ण बनाउन संसदका समितिहरू सक्रिय रहनु जरुरी छ । समितिहरूले सरकारलाई निर्देशन, अनुगमन र समन्वयमार्फत निर्वाचनमा सहयोग गर्न सक्ने उनीहरूको भनाइ छ ।

राष्ट्रिय सभामा दर्ता भएका र विचाराधीन विधेयक अघि बढाउन पनि समितिहरूको बैठक निरन्तर चल्नुपर्ने आवश्यकता देखिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड भएपछि संघीय संसदको अधिवेशन अन्त्य भएको थियो । त्यसयता संसद् बैठक बस्न स्थान अभाव भएपछि सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हल प्रयोग गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?