सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृति लिनुपर्ने 

संगठनभित्र समूह निर्माण गर्न अग्रसर हुने कार्य अमान्य

लोकपथ
2.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ । अनिवार्य भेटघाट गर्नु परेमा स्वीकृति लिन भनिएको छ । 

बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्चपदस्थ व्यक्तित्वहरू, राजनैतिक दलहरूका नेतृत्व तथा पदाधिकारीलगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा भेटघाट गर्न कडाइ गरिएको हो । 

सशस्त्र प्रहरी कर्मचारीहरूले कुुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ । जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न उच्चपदस्थ व्यक्तित्वहरू, सामाजिक अभियन्तालगायतका विभिन्न सञ्चारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकुल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनधिकृत रूपमा प्रकाशन गरेको पाइएमा कडा कारबाही गरिने भनिएको छ । 

राज्यप्रदत्त जिम्मेवारीहरूमध्ये विशेषगरी आतङ्ककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने भएको हुँदा अनधिकृत रूपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकाले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा निरुत्साहित गरी अघि बढ्ने संगठनको लक्ष्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र खनालले बताए । 

सांगठानिक हित र आवश्यकताका कारण सूचना आदान प्रदान गर्नु परेमा स्थायी आदेशमा उल्लेखित अनुसूची अनुरूप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गर्दै मिडियाकर्मीसँग छलफल, भेटघाट एवं अन्य तरिकाबाट मर्यादापूर्वक सूचना प्रकाशन गर्न प्रवक्ताको कार्यालयबाट गर्न सकिने ब्यहोरासमेत जानकारी गराएको छ । 

राष्ट्रसेवाको लागि माइनस २० डिग्री सेल्सियस न्यूनतम तापक्रमदेखि ४० डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरूको समेत मनोबल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दबाब र भनसुनले राम्रो अवसर दिन नसकिने बताइएको छ । 

फौजी संगठनमा अनुशासित, मर्यादित र आदेशको पालना हुनै पर्छ, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने बताइएको छ । विशेष गरी सिनियर अधिकृतहरूबाट व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखी उल्लेखित क्रियाकलापमा सक्रिय हुँदै आउने र संगठनभित्र समूह निर्माण गर्न अग्रसर हुने कुरा सशस्त्र प्रहरी नियमावली भन्दा बाहिर रहने हुँदा त्यस्ता कर्मचारीहरूलाई ऐन नियम बमोजिम कारबाही गरिने बताइएको छ । कुनै एक कमान्डरले देखाएको निरीहता, अकर्मण्यता र असक्षमताको भार संगठनले बोक्न नसक्ने कुरा प्रस्ट पार्दै त्यस्ता गतिविधि गर्ने जुनसुकै दर्जाका कर्मचारी भए तापनि सशस्त्र प्रहरी ऐन एवं नियमावलीको नियम बमोजिम कडा कारबाही गरिने बताइएको छ । 

आर्थिक तथा भौतिक रूपमा चाहिने जति सेवा सुविधा तुलनात्मक रूपमा नभएता पनि राज्य दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शून्य सहनशीलताको नीतिलाई अक्षरशः पालन गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपदमा परेकाहरूको उद्धार तथा सहयोगलगायतका कार्यहरूमा उच्च मनोबल र पेसागत बफादारिताकासाथ लाग्न निर्देशन समेत गरिएको छ । 

साथै कुनै पनि सशस्त्र प्रहरी कर्मचारीहरूले नियम र आचरणविपरीतका कुनै भेटघाट वा राजश्व चोरी निकासीमा संलग्न भएको पाइएमा छिटो भन्दा छिटो सम्पर्क गरिदिन समेत अनुरोध गरिएको सह प्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?