काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न आपराधिक मुद्दामा फरार रहेका चार जना अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले फैसला गरिसके पनि कैद तथा जरिवाना भुक्तान नगरेका उनीहरूलाई प्रहरीले विशेष अपरेसनमार्फत पक्राउ गरेको हो ।
बिहीबार वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको विशेष अपरेसन टोलीले ती फरार कसूरदारहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको स्याङ्जा प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये स्याङ्जा जिल्ला रत्नपुर-८ का गणेशबहादुर कुमाल, सिर्सिकोट-६ का हरिबहादुर गुरुङ, खिलुङ देउराली-६ का दलबहादुर गोदार र राङवाङ-५ का इउबबहादुर राना रहेका छन् ।
तीमध्ये हरिबहादुर गुरुङ डाँकाको मुद्दामा ६ वर्ष कैद र २५ हजार ५५७ जरिवानाको सजाय पाएका थिए भने इउबबहादुर रानाले नकबजनी चोरीको मुद्दामा १ हजार २०० जरिवाना तिर्न बाँकी रहेको थियो । अन्य दुई अभियुक्त गणेशबहादुर कुमाल र दलबहादुर गोदार कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय तोकेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई अदालतको आदेशअनुसार कैद भुक्तान र जरिवाना असुलको प्रक्रिया अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया