मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउममाथि मदिराले लट्ठ पुरुषले गरे घाँटीमा चुम्बन

प्रहरीमा उजुरी दिने राष्ट्रपतिको भनाइ

लोकपथ
910
Shares

काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउममाथि मदिराले लट्ठ एक पुरुषले यौन दुर्व्यवहार गरेका छन् । मेक्सिको सिटीमा मंगलबार नागरिकहरूसँग कुराकानी गरिरहेका बेला उनीमाथि यौन दुर्व्यवहार भएको हो । 

राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा यो घटना हुँदा राष्ट्रपति क्लाउडिया शेइनबाउम नजिकै कुनै सुरक्षाकर्मी थिएनन् । केही छिनपछि त्यहाँ आएका सुरक्षाकर्मीहरूले ती पुरुषलाई पक्राउ गरेका थियो । 

भिडिओमा देखिएअनुसार राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुरा गरिराख्दा एक पुरुष उनको नजिकै गएर काँधमा हात राखेका थिए । त्यसपछि उनको घाँटीमा चुम्बन गरेका थिए । 

राष्ट्रपति शेइनबाउमले तत्काल फर्केर ती पुरुषको हात आफ्नो काँधबाट हटाउँदै शान्तपूर्वक, हाँसेरै उनको सामना गरेकी थिइन् । त्यसपछि सरकारी अधिकारी त्यहाँ आएर राष्ट्रपतिको छेउबाट ती पुरुषलाई हटाएका थिए । त्यसपछि पनि उनले राष्ट्रपतिको नजिक गएर कुरा गर्ने प्रयत्न गरेका थिए । 

सो घटनापछि पत्रकार सम्मेलन गर्दै राष्ट्रपति शेइनबाउमले ती व्यक्तिविरुद्ध जाहेरी दिने बताएकी छन् । ‘यो घटना मैले एक महिलाको रूपमा भोगेकी हुँ, तर यो कुरा हाम्रो देशकी सबै महिलाले भोगिरहेका छन्, यदि म आफैले उजुरी नगर्ने हो भने अरू महिलाको न्यायको अवस्थाबारे के सन्देश जान्छ ?’

शेइनबाउममाथिको घटनाले राष्ट्रपतिको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ । शेइनबाउमले भने आफू जनतासँग नजिक रहने पुरानो नीति परिवर्तन नगर्ने बताएकी छन् । ‘हामी जनताबाट टाढा रहन सक्दैनौँ,’ उनले भनिन्, ’त्यसो गर्नु भनेको हाम्रो पहिचान अस्वीकार गर्नु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?