काठमाडौं । कतै तपाईंलाई लामो समयसम्म ग्यास्ट्रिकले सताएको त छैन ? ग्यास्ट्रिककै मात्रै हो भन्दै बजारबाट औषधी किनेर खाइरहनु भएको त छैन ? यदि ग्यास्ट्रिक मात्रै सोचेर ग्यास्ट्रिकको औषधी मात्रै खाइरहनु भएको छ भने ख्याल गर्नुहोस्, कतै त्यो अल्सर हुँदै क्यान्सरको नजिक त पुगेको छैन ?
हो, ग्यास्ट्रिककै अर्को रुप अल्सर र त्यसपछि क्यान्सरको खतरामा पुराउन सक्ने एउटा रोग हो, पेप्टिक अल्सर । शरीरको पाचन शक्तिलाई जीण बनाई आवश्यक अम्लीय पदार्थको प्रयोग गर्न नसकी शरीरमा बढ्ने समस्या हो पेप्टिक अल्सर । आखिर के हो त पेप्टिक अल्सर, यो किन र कसरी हुन्छ अनि यसको रोकथाम वा उपचारका उपाय के के हुन् त ? यस विषयमा हामीले वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. विधाननिधि पौडेलसँग कुराकानी गरेका छौँ ।
के हो पेप्टिक अल्सर ?
सामान्य भाषामा भन्नुपर्दा पेटमा घाउ वा फोरा पर्नुलाई पेप्टिक अल्सर भनिन्छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेलका अनुसार पेटमा म्युकस नामक चिल्लो पत्र हुन्छ, जसले पेटको भित्री भागलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट जोगाउँछ । यो एसिड पाचनका लागि आवश्यक भए पनि शरीरका अन्य भागमा पुग्दा हानिकारक हुन सक्छ ।
यो एसिड र म्युकस पत्रबिचको सन्तुलन बिग्रिएपछि पेटमा अल्सर बन्न थाल्छ । शरीरमा शारीरिक वा मानसिक तनाव पहिलेदेखि नै रहेको अवस्थामा यो समस्या झन् बढ्न सक्छ ।
त्यस्तै, दुखाइ कम गर्ने औषधीको लामो प्रयोगले पनि अल्सर हुन सक्छ । सामान्यतया अल्सर पेट वा सानो आन्द्राको माथिल्लो भागको झिल्लीमा हुने गर्छ ।

डा. पौडेलका अनुसार पेप्टिक अल्सरको मुख्य कारण एच पाइलोरी ब्याक्टेरिया हो । खानपान वा एसिड बन्नु मात्रै कारण होइन, यो ब्याक्टेरिया पनि दोषी हुन्छ ।
यो ब्याक्टेरिया दिसा वा फोहोर पानीमार्फत फैलिन्छ । वर्षातको मौसममा दुर्गन्ध र फोहोरका कारण यसको संक्रमण बढी देखिन्छ । शारीरिक सक्रियता कम हुने र रोग प्रतिरोधात्मक शक्ति घट्दा पनि ब्याक्टेरिया सक्रिय हुन्छ ।
अत्यधिक तारेका, चिल्लो र मसालेदार खानेकुरा, धेरै चिया–कफी सेवनले पनि अल्सरको जोखिम बढाउँछ ।
डा. पौडेलका अनुसार पेप्टिक अल्सरका मुख्य लक्षणमा पेटको बिच भागमा जलन वा पोलिने अनुभव, खाली पेट हुँदा दुखाइ बढ्नु, खाना खाँदा केही समयका लागि दुखाइ कम हुनु, वाकवाकी र वान्ता हुने, पेट फुल्ने र तौल घट्ने जस्ता समस्या देखिन्छन् ।
उनका अनुसार, लामो समयसम्म एन्टिबायोटिक वा पेनकिलर औषधि सेवन गर्ने, अत्यधिक रक्सी सेवन गर्ने, धुम्रपान गर्ने र मानसिक तनावमा रहने व्यक्तिमा यो समस्या बढी देखिने गर्छ ।
उनी भन्छन्, ‘पेप्टिक अल्सरलाई सुरुवातमै पहिचान गरेर उपचार गर्न सके सहजै निको हुन्छ, तर ढिलो उपचारले ग्यास्ट्रिक क्यान्सर, आन्द्रा फुट्ने वा रक्तस्राव हुने जोखिम रहन्छ ।’
उनले भने, ‘पेप्टिक अल्सरको मुख्य लक्षण पेट पोलेर दुख्ने हो । पेटको एसिडले यस्तो दुखाइ बढाउँछ, विशेषगरी खाली पेटमा । यस्तो दुखाइ एसिड कम गर्ने खाना वा औषधि खाँदा केही समयका लागि कम भए पनि फेरि दोहोरिन सक्छ । कतिपयमा लक्षण नै नदेखिन पनि सक्छ ।’
विशेषज्ञका अनुसार पेटको भित्तामा बन्ने घाउलाई ग्यास्ट्रिक अल्सर र आन्द्राको सुरुवातमा बन्ने घाउलाई डुओडेनल अल्सर भनिन्छ । यी दुवै अवस्थामा पेट पोल्ने, दुख्ने, वान्ता लाग्ने, पेट फुल्ने र कहिलेकाहीँ रगत आउने समस्या देखिन सक्छ ।
उनले भने, ‘नेपालजस्ता विकासोन्मुख देशमा ग्यास्ट्रिक समस्या धेरै देखिन्छ । नेपालमा करिब ७० प्रतिशत मानिसमा ग्यास्ट्रिक अल्सरका किटाणु पाइने गरेको छ ।’
खाली पेट रहनु, अनियमित खानपान, धूम्रपान, मदिरा सेवन, मानसिक तनाव र लामो समयसम्म एस्पिरिन वा एन्टिइन्फ्लामेटोरी औषधी प्रयोग गर्दा पेप्टिक अल्सरको जोखिम बढ्ने गरेको उनको भनाइ छ ।
पेप्टिक अल्सरबाट बच्ने उपाय
– नियमित र समयमै खाना खाने बानी बसाल्ने
– अत्यधिक तिखा, तेलिला र मसलेदार पदार्थ कम गर्ने
– धूम्रपान र मद्यपान पूर्ण रूपमा त्याग्ने
– तनाव नियन्त्रण गर्ने र पर्याप्त निद्रा लिने
– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक वा पेनकिलर औषधी लामो समय प्रयोग नगर्ने
– पर्याप्त मात्रामा पानी पिउने र हल्का व्यायाम गर्ने
डा. पौडेलका अनुसार पेटमा जलन, दुखाइ, वान्ता, रिंगटा, पेट फुल्ने वा कालो दिसा देखिए जस्ता लक्षण देखिएमा ढिलाइ नगरी विशेषज्ञ चिकित्सकको सल्लाह लिनु जरुरी छ ।
जीवनशैलीमा सुधार र औषधी उपचारद्वारा पेप्टिक अल्सरलाई नियन्त्रण गर्न सकिन्छ ।
पेप्टिक अल्सर भएको कसरी थाहा पाउने ?
पेटमा अल्सर भएको छ कि छैन भन्ने कुरा इन्डोस्कोपी गरेर पत्ता लगाउन सकिन्छ । इन्डोस्कोपीले पेटभित्रको अवस्था स्पष्ट देखाउने भएकाले पेप्टिक अल्सरको उपस्थितिबारे निश्चित जानकारी दिन्छ ।
उनका अनुसार अल्सरको कारण बन्ने हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरिया रहेको छ कि छैन भन्ने पत्ता लगाउन चार वटा मुख्य विधि प्रयोग गरिन्छ ।
ब्रेथ टेस्ट (श्वास परीक्षण) : यस परीक्षणमा बिरामीको श्वासबाट ब्याक्टेरियाको उपस्थितिको पत्ता लगाइन्छ । यदि ब्रेथ टेस्ट पोजेटिभ आयो भने पेप्टिक अल्सर गराउने ब्याक्टेरिया रहेको पुष्टि हुन्छ ।
बायोप्सी : इन्डोस्कोपीको क्रममा पेटको भित्री भागबाट सानो टिस्यु निकालेर परीक्षण गर्ने विधि हो ।
माइक्रोस्कोपी र कल्चर परीक्षण : बायोप्सी गरिएको नमुनालाई माइक्रोस्कोपमा हेरेर वा कल्चर गरेर ब्याक्टेरिया छ कि छैन भन्ने निर्धारण गरिन्छ ।
स्टुल टेस्ट (दिशा परीक्षण) : बिरामीको दिसाबाट पनि ब्याक्टेरियाको उपस्थितिको जाँच गर्न सकिन्छ ।
पेप्टिक अल्सर समयमै उपचार नगर्दा जीवनमै खतरा
डा. पौडेलका अनुसार अल्सर बिग्रिएपछि त्यसले शरीरमा गम्भीर असर पुर्याउन सक्छ । अल्सरको समस्या हुँदा वान्ता गर्दा रगत आउने, रगत कालो रंगको देखिने, शरीरमा रक्तअल्पता हुने, आन्द्रा फुट्ने, पेट फुल्ने जस्ता गम्भीर लक्षण देखा पर्न सक्छ । यसबाहेक दीर्घकालीन अल्सरले पेटको क्यान्सर हुने जोखिम पनि बढाउँछ ।

उनी भन्छन्, ‘पेप्टिक अल्सरलाई हल्कारूपमा नलिई समयमै जाँच र उपचार गर्नु अत्यावश्यक छ । स्वास्थ्य जटिल हुनुअघि सावधानी अपनाउनुपर्छ ।’
पेप्टिक अल्सरको उपचारमा लाग्ने समय
डा. पौडेलका अनुसार अल्सरको उपचारमा लाग्ने समय यसको प्रकार र कारणअनुसार फरक पर्छ ।
यदि अल्सर एच पाइलोरी नामक ब्याक्टेरियाबाट भएको प्रमाणित भएमा, उपचारले लगभग १४ दिनमा असर देखाउन थाल्छ । यसमा प्रायः प्रान्टाप्राजोल, इसोमाप्राजोल वा रायप्राजोल जस्ता औषधिहरू प्रयोग गरिन्छ ।
ग्यास्ट्रिक अल्सरको मामिलामा भने उपचार लगभग २ महिनासम्म लाग्छ । तर डुओडेनल अल्सर कम हुन सामान्यतया १ महिना पर्याप्त हुन्छ ।
डा. पौडेलले अल्सर भएमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्नु र खानपानमा ध्यान दिनु अत्यन्त जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया