काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरूसँगको पार्टी एकतालाई ऐतिहासिक र असाधारण भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनमा बोल्दै दाहालले यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन सबैमा आग्रह गरे । उनले विगतमा भएका कमजोरीहरुको समीक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने बताए ।
उनले विगतमा भएका कम्युनिष्ट एकताको स्मरण गर्दै मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गरे र त्यसको सुरुवात आजदेखि सुरु भएको बताए ।
उनले भने, ‘आजको एकता हाम्रो कमजोरी कहाँ भयो ? हामी कहाँ चुक्यौँ ? भन्ने कुराको आत्मसमिक्षा गर्ने ऐतिहासिक अवसर पनि हो । हामीले समीक्षा गरेका छौँ र समीक्षा गर्दै जानेछौँ । त्यस कारण यो असाधारण एकता र ऐतिहासिक दिनमा हामीले यो संकल्प लिएका छौँ ।’
उनले थपे, ‘हामीले हाम्रै भूमि र हाम्रै विशेषतामा समाजवाद निर्माण गर्ने हो। हाम्रो एकता वार्ता चलेपछि मैले वामदेवजीलाई भनेको थिएँ समाजवादसम्बन्धी पुस्तक दिनुभएको थियो, आन्दोलनको क्रममा जल्यो अर्को किताब दिनुहोस् । अहिले समाजवादको प्रश्न गर्नुभयो। तपाई के गर्नुहुन्छ ? तपाई पनि नेता हो नि ? समाजवाद निर्माणको जिम्मा वामदेवजीलाई नै दिने सोच्दैछु।’
प्रचण्डले जेनजी विद्रोहले आत्मसमिक्षा गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरेकोमा पनि धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया