कम्युनिष्ट एकता आजको आवश्यकता हो : झलनाथ खनाल

लोकपथ
350
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा कम्युनिष्ट पार्टीबिचको एकता अपरिहार्य भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित १० वामपन्थी दलहरूको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ । पहिलेको वाम एकता र सिङ्गो राष्ट्रिय एकता आज पनि त्यत्तिकै आवश्यक छ ।’

एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै उनले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने बताए । ‘नेपाल कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्ने विश्वास लिएको छ,‘उनले भने, ‘अघिल्लो पटक हामीले नेकपा बनाएँ, तर किन जोगाउन सकेनौँ भन्ने गम्भीर आत्म समीक्षा गर्नुपर्छ ।

खनालले अघिल्ला गल्ती र कमजोरी स्वीकार गरी एकताको नयाँ प्रक्रियामा सबै वामपन्थी दल सहभागी हुन आह्वान गरे । उनले कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । साथै नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि उनको जोड थियो ।

यस अवसरमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पार्टी एकताबाट लोकतन्त्र बलियो हुने र देश तथा जनताको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलनपछिको संक्रमणकाल पार गर्न माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्व महत्त्वपूर्ण रहेको उनले बताए ।

नेकपा समाजवादीका नेता राजु कार्की, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत नेताले समाजवादी क्रान्तिको लक्ष्यका साथ नवगठित नेपाली कम्युनिष्ट पार्टी गठन भएको उल्लेख गर्दै समाजवादी आन्दोलनको अभिभारा पूरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देवप्रसाद गुरुङले नवगठित पार्टीको अन्तरिम विधान, घोषणापत्र र १८ बुँदे एकताको आधार प्रस्तुत गरे । उनले सम्मेलनपश्चात् बन्ने केन्द्रीय समितिबाट कार्यदल गठन गरी राजनीतिक दस्ताबेज तयार गर्ने जानकारी दिए । एकीकृत समाजवादीका उपाध्यक्ष डा। बेदुराम भुसालले अन्तरिम विधानका विविध पक्षबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?