काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले सो घोषणा गरेका हुन् । उनले अबको यात्रा भेलाबाट नै तय गर्ने पनि बताएका छन् ।
एकतामा नजाने एकीकृत समाजवादीका कमिटीका नेताहरूलाई सोही जिम्मेवारीमा क्रियाशील हुन पनि उनले आग्रह गरेका छन् ।
‘मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्नेछौँ । त्यही भेलामा हामी जम्मा हुनेछौँ र अब कसरी जाने भन्ने कुरा त्यहीबाट गम्भीर हिसाबले छलफल गरेर हाम्रो बाटो तय गर्नेछौँ । त्यतिबेलासम्मका लागि नआत्तिनुहोला,’ उनले भनेका छन् ।
उनले पार्टी एकतामा नजानेहरूलाई एमालेमा नफर्किन पनि आग्रह गरेका छन् ।
भुसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने पनि बताएका छन् । कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए ।
‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भुसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैँ ओरालो हिँड्दै छन् । त्यसले निकास दिँदैन ।’
एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो ? भनेर उनले प्रश्न गरे ।
‘नेकपा एकीकृत समाजवादी नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौँ । त्यो के भयो ?,’ भुसालले सोधेका छन्, ‘त्यो पुनर्गठन र रूपान्तरणमा हामीले के गर्यौँ, गरेनौँ भनेर सामान्य समीक्षा समेत नगरेर फेरि त्यहाँ लगेर बुझाउनु भनेको के हो ?’
उनले अहिले हुन लागेको एकताले जनतालाई झुट बोल्ने र धोका दिने काम मात्रै हुने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया