टुंगियो एकीकृत समाजवादीसँगको रामकुमारी झाँक्रीको यात्रा, मूल घर एमालेमै फर्कने चाहना

लोकपथ
595
Shares

काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको सो पार्टीसँगको यात्रा आजबाट टुंगिएको छ । चार वर्षअघि एकीकृत समाजवादी पार्टी गठन गर्न अध्यक्ष माधवकुमार नेपाललाई विशेष साथ दिएकी उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन गइरहेको एकताप्रति असन्तुष्टि जाहेर गर्दै सो पार्टीसँगको यात्रा टुंग्याएकी हुन् । 

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा झाँक्रीले आफू यो प्रक्रियाबाट अलग रहेको बताइन् । झाँक्रीले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भनिन्, ‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ ।’

उनले एमाले फुटेर एकीकृत समाजवादी बनाउँदा आफूले बीचमै यात्रा टुंग्याउन नसकेको भन्दै आज त्यो अवसर आएकोमा खुसीसमेत व्यक्त गरिन् । ‘आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौँ,’ उनले भनिन् । 

संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको भन्दै उनले तर सो पार्टी सोचेअनुसार अघि बढ्न नसकेको र आफूहरूले त्यो पार्टीबाट चुनाव जित्नसमेत नसकेको उनले बताइन् । 

झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन् । माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् ।

यस्तै, माओवादी केन्द्रसँग एकता प्रक्रियामा नगएका एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले भने, ‘म र रामकुमारी झाँक्री कसैसँग एकता नगर्ने, मूल घर पसिना बगाएर बनाएको घर, एमालेमा फर्किने अभियान चलाउँछौँ । 

उनले आफू निःशर्त एमालेमा फर्किन लागेको जानकारी दिए । उनले भने, ‘म र रामकुमारी झाँक्री कसैसँग एकता नगर्ने, मूल घर पसिना बगाएर बनाएको घर, एमालेमा फर्किने अभियान चलाउँछौँ । निःशर्त हामी एमालेमा फर्किन लागेको हौँ । हामीलाई मूल घरमा केही चाहिएको छैन ।’ 

उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ । हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौँ । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहन्छु ।’

पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निःशर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?