ओलीबाट ‘निराश’ खनाल प्रचण्डलाई भेट्दै, एकताको विरोधी नभएको प्रष्टीकरण

लोकपथ
4k
Shares

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहार र भनाइबाट ‘निराश’ बनेका छन् । नेपालका वामपन्थी दलहरूबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल हिजो मंगलबार बेलुकी एमाले अध्यक्ष ओलीलाई भेट्न जेनजी आन्दोलनपछि महेश बस्नेतले व्यवस्थापन गरेको गुण्डुस्थित निवासमा गएका थिए । खनालले त्यहाँ ओलीसँग जे–जे विषयमा कुरा उठाए, ओलीले कुनै पनि विषयमा ‘सकारात्मक’ जवाफ दिएनन् । त्यसपछि खनाल ओलीलाई धन्यवाद दिँदै फर्किए । 

ओलीसँगको भेट र कुराकानीबारे खनालले भने, ‘खासमा म जतिबेला संकटमा परेँ, मेरी श्रीमतीमाथि गएको भदौ २४ गते जुन प्रकारको हमला भयो, भारतमा लगेर मिसेजलाई थप उपचार गर्नुपर्ने अवस्था आयो । त्यो बेला ओलीजीले मप्रति जुन सहयोग र सद्भाव देखाउनु भयो, त्यसको लागि धन्यवाद दिनको लागि हिजो म उहाँको निवासमा गएको थिएँ । सहयोगको लागि मैले उहाँलाई धन्यवाद दिएँ । त्यो सिलसिलामा केही राजनीतिक कुरा पनि भएका थिए ।’

ओलीसँगको भेटमा खनालले वाम एकताको विषयमा कुरा गरेका थिए । तर ओलीले उनले चाहेको भन्दा फरक धारणा राखे । 

भेटमा ‘वृहत् वाम एकतामा जाने कुरा के छ ? सबै वामपन्थी एकताबद्ध हुन पाए राम्रो हुन्थ्यो’ भन्ने खनालको जिज्ञासामा ओलीको जवाफ थियो, ‘यहाँ को छ र वाम ? कोसँग वाम एकता गर्ने ? म कोही वाम नै देख्दिन ।’

ओलीले कसैलाई वाम नै नदेखेपछि वाम एकताको कुरा गर्नुको कुनै अर्थ नभएको खनालले बताए । ओलीले हिजोको भेटमा आफूसँग प्रष्टरुपमा ‘व्यक्तिगतरुपमा आए मात्रै स्वीकार गर्ने, नीति कार्यक्रम स्वीकार गरेर आए लिने, नत्र नलिने’ भन्ने जवाफ दिएको पनि खनालले बताए । 

बाम एकताबारे ओलीको जवाफबारे उनले भने, ‘एकता गर्दा हामी समूहगत, पार्टीगत त्यस्तो एकता केही पनि गर्दैनौँ भन्ने कुरा गर्नुभयो । व्यक्तिगत रूपमा आउनेहरूलाई हामी पार्टीमा स्वागत गर्छौँ । हाम्रो पार्टीको विचार, नीति स्वीकार गरेर आउनेहरूलाई हामी स्वागत गर्छौँ भन्नु भयो । समूहगत रूपमा कसैसँग एकता नगर्ने भन्ने कुरा गर्नुभयो । हाम्रो नीति नै यस्तो छ भन्नुभयो ।’ 

मंगलबार साँझ ओलीलाई भेटेका खनालले आज केहीबेरमै नेकपा माओवादी केन्द्रको महाधिवेशन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दै छन् । माओवादी केन्द्र र खनालकै दल एकीकृत समाजवादीसहित आठ दलबीच आज एकता हुनुअघि उनले प्रचण्डसँग भेट्न लागेका हुन् । खनाल अहिलेसम्म माओवादीसँगको एकताको विपक्षमा छन् । 

ओलीपछि प्रचण्डलाई भेट्न लागेको जिज्ञासामा खनालले भने, ‘मेरो मान्यता अलि वृहत् वाम एकतामा जाऔँ भन्ने हो । अहिले सारा देशभरका वामपन्थीहरूलाई एकताबद्ध गर्न जरुरी छ । यतिबेला एउटा–एउटा, फ्याक्सन–फ्याक्सन मात्रैको युनिटीले वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिँदैन । वृहत् रूपमा जाऔँ भन्ने मेरो मान्यता हो ।’ 

उनले भने, ‘सबै वामपन्थी शक्तिलाई कसरी एक ठाउँमा ल्याउन सकिएला भन्ने चिन्तामा म छु । अब आज प्रचण्ड कमरेडसँग पनि म यो विषयमा कुरा गर्दैछु । उहाँहरूको एकता प्रक्रियामा कस्तो खालका धारहरू छन् । हामीसँग पनि यत्रा विधि मान्छे छन् । त्यो पंक्ति त्यहाँ अट्छ कि अट्दैन ? अटाउँदा के आधारमा अटाउँछन् ? यो बारेमा पनि म उहाँसँग छलफल गर्छु । सबै एकताबद्ध भएर जाने आधार तयार भयो भने हामी पनि सोच्न सक्छौँ । म एकताको विरुद्धमा छैन । म त झन् वृहत् वाम एकताको पक्षमा छु । खाली दुइटा समूहबीच मात्रै एकताको पक्षमा होइन, व्यापक एकताको कुरा त हो नि मैले भन्ने गरेको ।’

प्रचण्ड र माधव नेपालसँगै जाने सम्भावना पनि तपाईँको अझै छ भन्ने जिज्ञासामा खनाल भन्छन्, ‘उहाँहरूसँग कुरा गरेपछि मात्रै यो विषय प्रस्ट हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?