जेनजी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार राहदानीको माग

लोकपथ
182
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरू बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दसैँ तिहार पनि मुख्य कारक हो । 

जेनजी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा विभागको सेवा अवरुद्ध हुन पुगेको र दसैँ तिहार मनाउन आउनेहरूले पासपोर्ट बनाएर फर्कन खोज्दा भीड थेगिनसक्नु भएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए । 

उनकाअनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रूपमा ९० हजारदेखि १ लाखसम्म नियमित रूपमा राहदानीको माग हो । त्यसैले अझै २ महिनालाई राहदानी पुग्ने नै छ । चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यवस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरणको कारण कुनै समस्याले बिचमा पुस्तिका अभाव नहोस् भन्ने हेतुले रहेको उनको भनाइ छ  । 

अर्यालकारअनुसार अहिले दैनिक झन्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ । त्यसमा विभागबाट हुने सामान्यतः १ हजार २ सय हो । अहिले विभागले दैनिक १ हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने जरुरी परेर आउने २–३ सय जनालाई पनि विभागले राहदानी दिने गरेका छ । नियोग जिल्ला प्रशासन, इलाका प्रशासन  कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ ।  अहिले दैनिक २ हजारदेखि २हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ । त्यसमध्ये १ हजार देखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालयलाई र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले जानकारी दिए ।

महानिर्देशक अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेनजी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरू जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरू विभागमा आएका कारण भिडभाड देखिएको हो । दोस्रो कारण जेनजी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दसैँ तिहारका कारण सेवा अवरुद्ध भयो । त्यसमा पनि दसैँ तिहारका लागि जति पनि विदेशबाट नेपालीहरू आएका थिए, ती नेपालीहरूले धेरैजसोले नेपालबाट पासर्पोट बनाएर जान खोजेपछि चाप बढेको हो । अर्को कारण राहदानीका लागि पुरानो सम्झौता सकिँदैछ । यो सक्रमणकालिन अवस्था हो । नयाँ सम्झौता अनुसार आपूर्ति हुनका लागि अहिलेको तालिकाअनुसार फागुन ११ बाट राहदानी जारी सुरु हुन्छ । त्यो अवधिभित्र अलिकति राहदानी पुस्तिकाको अभाव हुनसक्छ । अहिले राहदानी पुस्तिका सीमित छ । बिचमा वैकल्पिक व्यवस्था गरेर पूर्ति गर्ने भनेर लागिरहेका छौँ । सम्भवतः एक दुई हप्ता भित्र रिजल्ट पनि आउँछ । जरुरी पर्नेलाई तत्कालै दिन सकियोस् भनेर अहिले सेवा कटौती गरिएको हो । यो तीन कारणले अप्ठ्यारो परेको हो । भीड धेरै समय रहँदैन । छिट्टै नै यो समस्या समाधान हुन्छ ।’

६ हजार राहदानी जले

राहदानी विभागकारअनुसार जेनजी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरूको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्याल बताउँछन् ।

उनले भने,‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकै पटक बल्कमा रि प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’

अर्यालकारअनुसार अहिले देखिएको भिडभाड एक–दुई हप्तामै समाधान हुन्छ,  त्योअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कूटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक–दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ । 

अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरेका छन् ।  ‘मेरो चाहिँ अनुरोध छ सबैलाई, आत्तिनुपर्ने केही छैन । सबैलाई हामीले जरुरी छ भने राजधानी दिन्छौँ र त्यो जरुरी हुनेलाई सहज रूपमा, यदि केही व्यवस्था भयो भने, एकदम सहज रूपमा दिने गरी हामीले व्यवस्था मिलाउँछौँ । त्यसैले एक–दुई हप्ता चाहिँ पर्खिदिनुहुन अनुरोध छ । त्योभित्रमा हामीले गृहकार्य गरिरहेका छौँ र सबैलाई सहज रूपमा दिने गरेर राजधानी वितरण हुने गरी हामी व्यवस्था मिलाउँछौँ र यसको लागि सबैको सहयोगका लागि अनुरोध गर्दछु,’ महानिर्देशक अर्यालले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?