काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेले कांग्रेस केन्द्रीय समितिमा रहेका फोहोर सफा गरेर मात्रै निर्वाचनमा जाने बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले महाधिवेशनमार्फत नीतिगत सुधार गरेर मात्रै निर्वाचनमा जान सकिने बताए । पार्टी सुध्रिएर जनताको माझ जानसकेमा मात्रै जनताले पत्याउने उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय समितिमा निर्वाचनपछि मात्रै महाधिवेशनको कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले पुरानो अनुहार लिएर जनताको माझ जान नसकिने बताए । उनले वर्तमान नेतृत्वले जनताको असन्तुष्टिको आवाज सुन्न नसकेको पनि आरोप लगाए । उनले विगतमा जनताको आवाजको नेतृत्व गर्ने पार्टी आज आफैँ जनताको असन्तुष्टिको सामना गर्न बाध्य भएको बताए ।
पार्टीमा आएको यति ठूलो अन्तरको निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले जनताको आकांक्षा पूरा गर्नको लागि कांग्रेसको नीति र नेतृत्व दुवै परिवर्तन आवश्यक रहेकोले आफूहरुले विशेष महाधिवेशनको माग गरेको बताए । महाधिवेशनमार्फत कांग्रेसलाई सुदृढीकरण गरेर कांग्रेसलाई जनताको माझमा लैजानुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने भनेर निराधार हल्ला चलाइरहेको बताए । उनले २०१४ सालमा भएको पार्टीको महाधिवेशनले पार्टीलाई दुई तिहाई सिट ल्याएर संसद्मा पुर्याएको स्मरण गरे । उनले यस पटक हुने विशेष महाधिवेशनले पनि पार्टीलाई बहुमत दिलाउने दाबी गरे । वर्तमान व्यवस्थामा दुईतिहाई सिट ल्याउन सक्ने अवस्था नरहे पनि फागुनमा हुने निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न उनले सबैलाई आग्रहसमेत गरे ।
विशेष महाधिवेशन पक्षधरहरुले निर्वाचन अगाडी नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने र नियमित हुन नसकेमा विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाइसकेका छन् । नेपाली कांग्रेसका सत्तापन पक्ष चुनावपछि महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ भने संस्थापनईतरपक्ष पुससम्ममा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया