काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबिच हुन लागेको एकतालाई आफूहरूले स्वीकार गर्न नसकेको बताएका छन् ।
मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने र सुशासन कायम गर्ने प्रयास विगतका वर्षहरूमा असफल भएको बताए । उनले भने, ‘पार्टीलाई जनतामुखी र जवाफदेही बनाउने हाम्रो कोसिस असफल रह्यो, अहिले त झन् विधिविहीन र भद्रगोल बनाइँदैछ ।’
उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबिचको एकता ‘भ्रष्टाचारको मुद्दा लागेको नेतासँगको नाटक’ हो, जसले पार्टीलाई अझ सीमित नेताहरूको नियन्त्रणमा पुर्याएको छ ।
शर्माले भने, ‘जेनजी आन्दोलनले नेतातन्त्र र भ्रष्टाचारको विरोधमा उठाएको आवाजलाई सम्मान गर्नुपर्नेमा त्यसकै विपरीत एकताको नाममा भ्रम र घृणा फैलाउने प्रयास भइरहेको छ ।’
भ्रष्टाचार विरोधी भावना विपरीत भइरहेको एकताप्रति असहमति जनाउँदै उनले नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान नेपाल’ सुरु गरेको घोषणा गरे । उक्त अभियानले सुशासन, पारदर्शिता र उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायका हकहितका पक्षमा काम गर्ने उनले बताए ।
उनले भने, ‘राष्ट्रलाई माया गर्ने, देशलाई समृद्ध बनाउने र शहीद–बेपत्ता परिवारका सपनालाई पूरा गर्ने उद्देश्यसहित यो अभियान अघि बढाइनेछ ।’
शर्माका अनुसार उक्त अभियानले विखण्डित वाम तथा प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया