काठमाडौं । हिंसा भड्काउने र सार्वजनिक शिष्टाचार विरुद्धको अपराध गरेको भन्दै प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो ।
भुसाल पछिल्ला दिनमा सञ्चार सम्पर्क विच्छेद गरेर बसेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन दिनदेखि उनको खोजी गरिरहेको थियो । डा. भुसाललाई काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाइने भएको छ ।
भुसालले केही दिनअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी(सीडीओ) छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनको भड्काउपूर्ण अभिव्यक्तिपछि प्रहरीले ओली बस्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।
यसअघि गत असोज २३ मा काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुको जिम्मा लगाइएको थियो । यद्यपि, सुधार केन्द्रमा भने जिम्मा लगाइएको थिएन ।
उनले कात्तिक १६ गते दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनी सामाजिक सञ्जालबाट घोषणा गरेका थिए । तर त्यस दिन गर्ने भनिएको प्रदर्शनमा सहभागी नभई उनी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।
भुसालले प्रदर्शन गर्ने खबरपछि एमालेसम्बद्ध युवा संघ र काठमाडौंका मेयर बालेन शाहका समर्थकले उनको प्रतिकार गर्ने योजना बनाएका थिए ।
त्यसअघि २०८१ पुस ७ गते पनि उनी पक्राउ परेका थिए । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने हिरासतभित्र बसेको फोटो सार्वजनिक गरेबापत उनी पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ गरी अदालतमा उनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । त्यसमा उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया