जनकपुरधाममा उद्योग वाणिज्य संघको आन्दोलन, सुनचाँदी छापा घटनाको निष्पक्ष छानबिन माग

लोकपथ
49
Shares

जनकपुरधाम । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ ।

संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै मंगलबार जनकपुरधाममा बजार व्यवसाय बन्द गरी विरोध प्रदर्शन गरेको हो ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दमन र कुटपिटको विरोधमा जनकपुरधामका व्यापारीहरूले दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्ना पसल बन्द राखेका थिए ।

संघको अगुवाइमा व्यापारीहरूले नगरमा विरोध र्‍याली समेत निकालेका थिए । यसअघि पहिलो चरणमा व्यापारीहरूले आफ्ना व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर र कालोपट्टी बाँधेर तीन दिनसम्म विरोध कार्यक्रम सञ्चालन गरेका थिए ।

धनतेरसको अघिल्लो दिन प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा बजार क्षेत्रमा छापा मारेको थियो । सो क्रममा एक पसलबाट ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू आक्रोशित भएका थिए ।

व्यापारीहरूले प्रहरीमाथि छापाको नाममा चाँदी लुटेको आरोप लगाएका छन् । प्रतिवाद गर्न खोज्ने व्यापारीमाथि प्रहरीले बल प्रयोग गर्दा संघका अध्यक्ष भण्डारी घाइते भएका थिए ।

व्यापारीहरूले घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?