पूर्वप्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुद्वारा मेक्सिकोसँग कूटनीतिक सम्बन्ध विच्छेद

लोकपथ
420
Shares

लिमा । पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गरेका छन् । उक्त निर्णय पेरुकी पूर्वप्रधानमन्त्री श्रीमती बेट्सी चाभेजले मेक्सिकोबाट शरण मागेपछि गरिएको हो । चावेजमाथि हाल विद्रोहसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ ।

विदेशमन्त्री डे जेलाका अनुसार मेक्सिकोको लिमास्थित राजदूतावासले चाभेजलाई शरण प्रदान गर्ने निर्णय लिँदा दुई देशबीच पहिले नै रहेको राजनीतिक तनावलाई अझ चर्काउने ‘अत्यन्तै प्रतिकूल कार्य’ गरेको हो । उनले मेक्सिकोले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएको आरोप लगाए । 

यसैबीच राष्ट्रपति जोसे जेरीको कार्यालयबाट जारी विज्ञप्तिमा पनि मेक्सिको सरकारमाथि पेरुको आन्तरिक विषयमा अनावश्यक र बारम्बार हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

अधिकारीहरूका अनुसार सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोले संसद् विघटन र आपतकाल घोषणा गर्ने असफल प्रयासमा संलग्न भएको अभियोगमा चाभेजमाथि अनुसन्धान भइरहेको छ । त्यसबेला सेनाको समर्थन नपाएपछि क्यास्टिलो तत्कालै संसदद्वारा पदच्युत भएका थिए । त्यसपछि उनलाई विद्रोह उक्साएको अभियोगमा पक्राउ गरिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले चाभेजमाथि राज्यसत्ताविरुद्धको विद्रोहको अपराधमा सहयोगीको रूपमा आरोप लगाएको छ र उनका लागि २५ वर्षसम्म कैद सजायको माग गरेको छ ।

विदेशमन्त्री डे जेलाले भने, ‘आज हामीले गहिरो खेदका साथ थाहा पायौँ कि तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोद्वारा गरिएको कू प्रयासकी सह–लेखिका पूर्व प्रधानमन्त्री बेट्सी चाभेजलाई लिमास्थित मेक्सिकाली दूतावासमा शरण दिइएको छ ।’

मेक्सिको सरकारले भने अन्तर्राष्ट्रिय कानुनअनुसार शरण प्रदान गरिएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेक्सिकोले पेरुको एकपक्षीय निर्णयलाई अत्यधिक र असमान प्रतिक्रिया मानेको छ । यो कुनै पनि रूपमा पेरुको आन्तरिक मामिलामा हस्तक्षेप होइन ।’

यसअघि पनि मेक्सिकोले पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोप्रति सहानुभूति प्रकट गर्दै उनकी श्रीमती र सन्तानहरूलाई शरण दिएको छ । क्यास्टिलो वामपन्थी मञ्चमार्फत सत्तामा पुगेका थिए र सन् २०२२ डिसेम्बरमा संसद् विघटनको घोषणा गरेपछि पदच्युत भएका थिए ।

गत अक्टोबरमा मेक्सिकाकी राष्ट्रपति क्लाउडिया सेनबामले क्यास्टिलोप्रति समर्थन व्यक्त गर्दै उनलाई ‘कूको सिकार’ भएको बताउनुका साथै निष्पक्ष सुनुवाइ र रिहाइको माग गरेका थिए । 

पेरुको विदेश मन्त्रालयले सोमबार प्रकाशित अर्को विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२२ डिसेम्बरको घटनादेखि नै मेक्सिको सरकारले पेरुको आन्तरिक मामिलामा अस्वीकार्य र व्यवस्थित हस्तक्षेप गर्दै आएको छ ।’

पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो ‘अस्वीकार्य र गैरकूटनीतिक’ व्यवहार परिवर्तन नगरेको मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?