काठमाडौं । जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि बयान लिने भएको छ । उनीसँग सकेसम्म आजै बयान लिइने भएको छ ।
सहकारी बचत रकम अपचलन मुद्दामा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा त्यहाँबाट निस्केका थिए । उनी कारागारबाट निस्केपछि जेनजीहरुले नै उनको चर्को आलोचना गरेका थिए ।
कारागारबाट निस्कँदा निकै हर्षित देखिएका उनी केही समयपछि नख्खु कारागार नै फर्केका थिए ।
जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशी, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि घटनाकेन्द्रित बयान लिइसकेको छ ।
भदौ २४ गते जेलबाट निस्कँदा कारागारले आफूलाई पत्रसमेत दिएको लामिछानेले बताएका बताएका थिए । यद्यपि उनी आफैले सार्वजनिक गरेको पत्र नै विवादमा परेको थियो । आयोगसँगको बयानका क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र लामिछानेलाई आफूले नदिएको बताएको स्रोतको भनाइ छ ।
‘लामिछाने समर्थकले आफै पत्र बनाएका हुन्, आफै छाप हानेका हुन्, मलाई पनि धम्क्याएका थिए,’ उनले बयानमा भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले कतिपय गम्भीर विषयहरू पनि विस्तृतमा भन्नुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया