वाम एकताको मार्गबाट पुनः शक्ति केन्द्रमा ‘प्रचण्ड’

लोकपथ
2.7k
Shares

काठमाडौं । हालैको जेनजी आन्दोलनले देशको केन्द्रीय राजनीतिलाई नराम्रोसँग प्रभावित गर्‍यो । यसले तत्कालिन सरकारलाई घुँडा टेक्न बाध्य, नेताहरुलाई जिम्मेवार बन्न प्रेरित मात्र गरेन हरेक पार्टीभित्र एकता र विद्रोहको लागि समेत तयार बनायो ।

जसरी जेनजी आन्दोलनले पूराना नेताहरुलाई राजनीतिबाट बहिस्कार गर्‍यो, त्यसरी नै पार्टीभित्रै जेनजीहरुकै भावना मुताविक वर्षौँ पार्टी सत्तामा रहेका नेताहरुमाथि प्रश्नको वर्षा सुरु भयो । एकाएक दलहरु महाधिवेशन गर्ने तरखरमा लागे, पार्टीका महत्वपूर्ण बैठक बोलाएर आत्मालोचनादेखि आत्मसमीक्षा गर्नेसम्मको मनस्थितिमा पुगे ।

निर्वाचिनपिच्छे खुम्चिँदै गएका माओवादी केन्द्र लगायतका दलहरु थप शक्ति आर्जनका लागि पार्टी एकतातिर लागेका छन् ।

आगामी कार्तिक १९ गते पार्टी एकता गर्ने सहमति गरेका विभिन्न दलहरुले सांगठनिक संरचनाबारे छलफल जारी राखेका छन् । आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ८ वाम शक्तिहरु एक हुने सहमति गरे । सोमबार पुनः देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किँराती माओवादी केन्द्रमा समाहित हुन आइपुगेपछि भने केही नेताहरु एकताभित्र जोडिएका छन् ।

०५२ देखि ०६२–०६३ सम्म १० वर्षे सशस्त्र क्रान्तिको नेतृत्व र त्यसपछि निरन्तर राजनीतिक सत्ताको वरिपरि रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः राजनीतिक शक्तिको केन्द्रमा पुग्ने मार्ग खोजेका छन् । त्यसो त यसअघि नै वामपन्थी कित्ताका दलहरुलाई एक बनाइ समाजवादी मोर्चा बनाउने र पछि त्यसैलाई पार्टी बनाउने तयारीमा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । तर त्यसभित्र उल्झन भइरहेका बेला भएको जेनजी आन्दोलनले एकाएक वाम शक्तिहरुलाई एक ठाउँमा उभिने हुटहुटी जगाइदियो । त्यसैको जगमा वाम शक्तिहरु एक ठाउँमा आए, त्यसको प्रत्यक्ष लाभ प्रचण्डलाई हुने देखिन्छ ।

पटकपटक मुलुकको नेतृत्व गरिसकेका प्रचण्ड शक्ति सन्तुलनका लागि माहिर खेलाडी मानिन्छन् । समयको मागलाई टिपेर सोही अनुसार ढल्किने सक्ने खुबी भएका प्रचण्डले जेनजी आन्दोलनपछि सबैभन्दा पहिला प्रतिक्रिया दिने र खुला रुपमा बाहिर निस्कने दलहरुमध्ये पहिलो शीर्ष नेतामा पर्छन् ।

जेनजी आन्दोलनपछि प्रचण्डले युवाहरूलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतिक जागरणको संकेत ठाने । पेरिसडाँडामा शहीद परिवार संघ नेपालको सभामा बोल्दै उनले भनेका थिए ‘युवा आन्दोलनले नयाँ राजनीतिक जागरणको संकेत गरेको छ । यो संकटलाई सामना गर्न वामपन्थी एकताबाट मात्र सम्भव छ ।’ उनले शान्ति प्रक्रियाको अपूर्णतालाई पनि स्वीकार गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता दोहोर्‍याए । यो घटनाले प्रचण्डलाई विपक्षी भुमिकामा बलियो बनायो । जसले उनलाई शक्ति सन्तुलनको केन्द्रमा लग्यो ।

वाम एकीकरणको कदम र १८ बुँदे सम्झौता

हालैको सबैभन्दा चर्चित गतिविधि भनेको ८ बाम शक्तिहरुबिच भएको १८ बुँदे सम्झौता हो । काठमाडौंमा आइतबार साँझ भएको यो सम्झौतामा प्रचण्डको माओवादी केन्द्रसहित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी) जनसमाजवादी पार्टी, नेपाल, नेकपा (साम्यवादी), नेकपा (माओावदी समाजवादी) र नेकपा सहभागी छन् । यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट चिरनको समूह पनि सामेल भएको छ ।

सम्झौताको मुख्य उद्देश्य माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन गर्नु हो ।

यसले जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै समाजवादतर्फ शान्तिपूर्ण आन्दोलनमार्फत अघि बढ्ने लक्ष्य राखेको छ । प्रचण्डले यो सम्झौतामा हस्ताक्षर गर्दै माओवादको ‘प्रचण्डपथ’ लाई औपचारिक रूपमा त्यागेर नेपाल कम्युनिस्ट पार्टी युगको माक्र्सवाद–लेनिनवादतर्फ फर्कने निर्णय गरेका छन् । यसलाई उनको वैचारिक पुनर्संरचनाको रूपमा हेरिएको छ । जसले सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियातर्फको संक्रमणलाई जोड दिन्छ ।

प्रचण्डको भूमिका यस प्रक्रियामा मुख्य छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको समन्वयमा उनी समन्वयकर्ताको जिम्मेवारीमा छन् । राष्ट्रिय एकता सम्मेलन कार्तिक १९ मा हुनेगरी तयारी भइरहेको छ । जसमा घोषणापत्र, अन्तरिम विधान र केन्द्रीय समिति गठन हुनेछ । पार्टीको चुनाव चिन्ह पाँच कोण भएको ‘तारा’ तोकिएको छ । तर नाम अझै टुंगो लाग्न बाँकी छ । ६ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने योजना छ ।

आन्तरिक असहमति र चुनौतीहरू

एकता प्रक्रियामा प्रचण्ड–माधव नेपालको नेतृत्वमाथि आन्तरिक असहमतिहरू पनि देखिएका छन् । पार्टी सचिवालय सदस्य जनार्दन शर्माले आइतबारको बैठक बहिष्कार गर्दै प्रचण्डको समन्वयमा एकता अघि बढाउन असहमति जनाए । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई ‘अनुशासनहीनता’ भन्दै कारबाहीको संकेत गरेका छन् । यद्यपि प्रचण्डले पार्टी एकताको दाबी गर्दै शनिवार भनका थिए, ‘पार्टी एकजुट छ, आन्तरिक मतभेदले एकतालाई असर गर्दैन ।’

प्रचण्डले काउन्टर–क्रान्तिको चेतावनी दिँदै वाम, देशभक्त र क्रान्तिकारी शक्तिहरूको एकताको आह्वान गरेका छन् ।

उनले राष्ट्रिय संकटलाई साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको द्वन्द्वका रुपमा लिएका छन् । यो एकीकरणले आगामी निर्वाचनमा वामपन्थीय शक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

त्यति मात्र होइन एकीकृत समाजवादीको एक तप्का नै अहिले माधवकुमार नेपालसँग छैन । खासगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरु माओवादीसँगको एकताबाट सन्तुष्ट छैनन् । झलनाथ, घनश्याम मात्र होइन एकीकृत समाजवादी गठन गर्दा खम्बा बनेर उभिएकी रामकुमारी झाँक्रीहरु समेत वाम एकताको पक्षमा नहुँदा त्यसभित्रको असन्तुष्टिहरु व्याप्त छन् । यता माओवादी केन्द्रको ठूलो तप्का नै वाम एकताको विक्षमा रहँदा त्यसका असरहरु आगामी दिनमा देखिने नै छन् ।

नेपालमा वामपन्थी एकता र विग्रहको इतिहास रोचक छ । पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्र एकता भइ वृहत कम्युनिष्ट पार्टी बन्यो । ०७४ सालको निर्वाचनमा वाम शक्तिले नसोचेको मत प्राप्त गरे पनि त्यो धेरै समय टिक्न सकेन । खासगरी नेताहरुको व्यवस्थापन राम्रोसँग नहुँदा दुवै शक्तिहरुबिच एकता भएको केही वर्षमै पूर्व माओवादी र एमाले गुटमा परिणत हुँदा अन्ततः एकता नै भंग हुन पुग्यो । अहिले जोडिन आएका शक्तिहरुबिच पनि सोही प्रकरण दोहोरिएमा भने न वामशक्तिको एकता बाँकी रहन्छ न त सोचेजति शक्ति नै निर्वाचनबाट हासिल गर्न सक्नेछन् ।

फेरि शक्ति केन्द्रमा प्रचण्ड

जेनजी आन्दोलनपछि दलहरुका गतिविधि केही दिन ठप्प प्रायः भए । शीर्ष दलहरुमा माओवादीले केन्द्रीय कमिटी बैठक बोलाइ केन्द्रीय कमिटी भंग गर्ने निर्णय गर्‍यो । जुन, वर्तमान सन्दर्भमा महत्वपूर्ण निर्णय मानिएको थियो । तर केन्द्रीय कमिटी भंग हुँदै गर्दा प्रचण्ड नै आगामी महाधिवेशन गराउने मुख्य व्यक्ति बने, जसलाई बाह्य रुपमा पद छाडेको भन्दै भित्री रुपमा प्रचण्ड नै माओवादी केन्द्रको केन्द्रमा रहेको आरोप लाग्यो । विशेष महाधिवेशन मार्फत् पार्टीलाई पुनःसंरचना गर्ने भनिए पनि मुल नेतृत्व उही रहँदा घुमाउरो बाटोबाट प्रचण्ड पुनः शक्तिमा रहने प्रपन्च रचेको टिप्पणी भइरहेको छ ।

यता आगामी महाधिवेशन मंसिरमा गर्ने माओवादीले गरे पनि पार्टी एकीकरणपछि त्यो विषय सेलाएर गएको छ । विभिन्न दलहरु मिलेपछि त्यसको व्यवस्थापनमा प्रचण्ड लाग्नेछन् । उनीसहित माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले अब बन्ने वृहत पार्टीको सांगठनिक संरचना निर्माण गर्नुपर्ने कार्यभार रहेको छ । त्यति मात्र होइन आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनमा समेत वाम शक्तिलाई जिताउनुपर्ने चुनौतीमा प्रचण्ड लगायतका नेताहरु लाग्नुपर्नेछ । आगामी निर्वाचनमा थप शक्ति आर्जन गर्ने वामशक्तिको तयारी छ । निर्वाचनबाट जति शक्ति हासिल नयाँ बनेको वाम शक्तिले गरे पनि केन्द्रमा भने प्रचण्ड अनि प्रचण्डहरु नै हुने देखिन्छ ।

यो पनि…

८ वर्षपछि माओवादी केन्द्रमै फर्किए गोपाल किराती

झलनाथ खनालको चाहना : कुरा मिले एमालेमै फर्कने, नमिले नयाँ पार्टी गठन 

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दल एकता हुँदै, यस्तो छ सहमति पत्र





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?