काठमाडौं । वर्तमान सरकारका उर्जामन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन नलागेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालदेखि केही सञ्चारमाध्यममा कुलमानले राजीनामा दिन लागेको विषय सार्वजनिक भएपछि उनले त्यसबारे स्पष्ट पार्दै आफूले राजीनामा दिन नलागेको बताएका हुन् ।
‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
जेनजी पुस्ताको एतिहासिक आन्दोलनबाट बनेको वर्तमान सरकारले जेनजीहरुको भावना अनुरुप काम गरिरहेको समेत बताएका छन् । साथै आफूले तीनवटा मनत्रालयको जिम्मेवारी सम्हाल्दै आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील रहेको समेत स्पष्ट पारेका छन् ।
‘जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु,’ उनले भनेका छन् ।
खासगरी कुलमानले नयाँ पार्टी खोल्ने वा वैकल्पिक धारका राजनीतिक दलको नेतृत्व गर्नेगरी अघि बढ्नसक्ने चर्चा चलिरहेको छ । जसकारण कुलमान सरकारबाट अलग भएर नयाँ ढंगले राजनीतिमा सक्रिय हुनसक्ने आँकलन समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया