४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा रहेको ब्रह्माको मूर्तिलाई  पुनःस्थापना 

लोकपथ
168
Shares

काठमाडौं । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा पाशुपत क्षेत्रमा मन्दिर निर्माण गरी मूर्तिको पुनःस्थापना गरिएको हो ।

उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृत्तमा रहेको थियो । पञ्चाङ्ग निर्णायक समितिले दिएको समयअनुसार सोमबार बिहान बाजागाजासहित र थारोहण गरेर मूर्तिलाई प्रहरी वृत्तबाट मन्दिरमा लगिएको हो । काठमाडौं महानगर वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले हराएर भेट्टाएपछि प्रहरीले सुरक्षित रुपमा प्रहरी वृत्त गौशालामा मूर्तिलाई राखेको जानकारी दिए ।

उनले मन्दिर पुनर्निर्माण गरिसकेपछि सोमबार मूर्तिको पुनःस्थापना गरिएको बताए । उनकाअनुसार मन्दिरको औपचारिक उद्घाटन भने कार्तिक २१ गते काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ । सर्वसाधारणको लागि पनि कार्तिक २१ पछि नै पूजाआजाको लागि मन्दिर खुला गरिने उनले जानकारी दिए ।

उनले ब्रह्माको मूर्ति नेपालमा यही एउटा मात्रै भएको पनि बताए । उनले विष्णुको मूर्ति पनि रहेको र त्यसलाई पनि पुनर्निर्माणको लागि वडा कार्यलयले काम गरिरहेको जानकारी दिए । यद्यपि पुरातत्त्व विभागका कारण केही ढिला भएको उनको भनाइ छ । 

छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति हराएको थियो । उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरु, सम्पदाविद्, संस्कृतिविद् लगायत स्थानीयको उपस्थिति रहेको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?