काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिकामा एक युवकले बाबुको हत्या गरेका छन् ।
हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईलाई उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे युवराज घरदेखि करिब ५ सय मिटर उत्तरतर्फको करेसाबारीमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले सन्देशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । मृतक युवराजको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिममा पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण भने अझै खुलेको छैन र यसबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया