झलनाथ खनालको चाहना : कुरा मिले एमालेमै फर्कने, नमिले नयाँ पार्टी गठन 

लोकपथ
784
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू एमालेमा फर्कने सम्भावनालाई जोड दिएका छन् । यसका लागि उनले समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने सर्त राखेका छन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भनेका छन्, “एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ ।”

उनले एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको टिप्पणी गरेका छन् । एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको पनि उनको भनाइ छ । 

उनले एमालेसँगको एकताका लागि चार आधारभूत सर्तहरू पनि प्रस्ताव गरेका छन् । जसलाई वार्ताको आधार बनाउन सकिने उनको भनाइ छ । ‘यी चार बुँदामा एकरूपता भयो भने हामी वार्ता सुरु गर्छौं,’ उनले भने । 

खनालले एमालेसँग एकताकालागि अगाडि सारेका सर्तहरू

मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने : ‘यो वाम आन्दोलनको आधार हो । विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्छ ।’

समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने : ‘नेपालले पुँजीवादी जनवादी क्रान्ति पूरा गरिसकेको छ । अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्छ ।’

नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने : ‘मार्क्सवादको ढाँचालाई नेपाली यथार्थमा रूपान्तरण गर्नुपर्छ । यहाँको कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचनालाई ध्यानमा राखेर समाजवाद निर्माण गर्नुपर्छ ।’

देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प : ‘यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको संघर्ष हो ।’

खनालले भनेका छन्, ‘यी सर्तहरू वाम राजनीतिको पुराना मूल्यहरूको पुनरुत्थान जस्ता लाग्छन्, जसलाई विगत दशकमा बेवास्ता गरिएको छ । यी चार कुरामा एकरूपता हुनेबित्तिकै हामी वार्ता सुरु गरिहाल्छौँ । यो राजनीतिक सहमति मात्र होइन, विचारको एकरूपता पनि हो ।’

एमालेप्रतिको माया र आलोचना : सुस्थिर चिन्तनको अभाव

नेता खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानका रूपमा पनि टिप्पणी गरेका छन् । ‘एमाले सुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ,’ उनले भावुक हुँदै भने, ‘तर यो माया अन्धभक्ति होइन । यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने हामी पुनः एकताबद्ध भएर जान सक्छौँ ।’

तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पनि व्यक्त गरे । ‘एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौँ । तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन ।’

खनालको आलोचना पार्टीको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित छ । एमालेलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके सबै नेता कार्यकर्तालाई एमालेमा समाहित हुन सहज हुने पनि बताए ।

नयाँ पार्टीको तयारी र वाम पुनर्गठन

एमालेसँग एकता नभए पनि खनाल नयाँ बाटोमा अघि बढ्न तयार छन् । ‘हामी नयाँ ढंगले पुनर्गठित हुँदैछौं । नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,’ उनले भने । 

हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसबाट नयाँ पार्टी, घोषणा पत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?