एमाले महाधिवेशन : उद्घाटन खुलामञ्चमा, बन्दसत्र भृकुटीमण्डपमा र मतदान राष्ट्रिय सभागृहमा गर्ने तयारी

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने सोच सो पार्टीले बनाएको छ । बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निश्चित भएको छ । 

एमाले महासचिव शंकर पोखरेलको सचिवालयका अनुसार, पार्टीको भव्य उपस्थिति देखाउन महाधिवेशनस्थल भृकुटीमण्डप र उद्घाटनका लागि खुलामञ्च रोजिएको हो । यद्यपि, पुनर्निर्माण कार्य भइरहेका कारण काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई सार्वजनिक प्रयोगका निम्ति खुला गरिनसकेकाले सोही ठाउँमा उद्घाटन हुने निश्चित भइसकेको छैन । महाधिवेशन हुने समयभित्र खुला गरिए मात्रै त्यहाँ उद्घाटन गरिने, अन्यथा भृकुटीमण्डपमै गरिने तयारी छ ।

महासचिव पोखरेलको सचिवालयका अनुसार, भृकुटीमण्डपको चौर र कभर्ड हल प्राप्तिका लागि पार्टी केन्द्रीय कार्यालयले भृकुटीमण्डप व्यवस्थापन समितिलाई आज सोमबार पत्राचार गर्ने र शुल्क पनि बुझाइने जनाएको छ । चौरमा टेन्ट लगाएर हल बनाइने र कभर्ड हलमा खाना खाने मेस बनाइने भएको छ । मतदान र मतगणनाका लागि राष्ट्रिय सभागृहको हल बुक गर्ने तयारी छ । 

११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय भएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले स्थान हदको बन्देज लगाएकाले त्यसलाई mसच्याउँदै शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सोही मितिमा काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?