काठमाडौंमा यसरी मनाइयो ‘विश्व पूर्ण शाकाहारी दिवस’

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौंको बौद्धमा सर्वप्राणी करुणा र शाकाहारको प्रवर्द्धनको उद्देश्यसाथ कला प्रदर्शनी र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विश्व भिगन दिवसको सन्दर्भमा नेपाल एनिमल सेभ नामक संस्थाले सो कार्यक्रम आयोजना गरेको हो । काठमाडौंको बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजित सो कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकार उपस्थिति थियो ।

विदेशी नागरिकहरूको समेत उक्त कार्यक्रममा उल्लेख्य सहभागिता देखिन्थ्यो।

माछामासु र दहीदुधमात्र नभई तिनका छाला, रौँ, हाड र प्वाँखसमेत प्रयोग नगर्ने शाकाहारीहरूलाई भिगन (पूर्ण शाकाहारी) भन्ने गरिन्छ । बढ्दो पशुजन्य उद्योग र उपभोगले जलवायु परिवर्तन बढाउने चेतावनी पछिल्लो समय वैज्ञानिकहरूले समेत दिएको सन्दर्भमा पशुक्रुरता समेत कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येकी एक शोभा भुजेलले पत्रकारहरूलाई बताइन् ।

खासगरी पश्चिमा जगतमा पछिल्लो समय दहीदुध मात्र नभई माछा मासुमसेत नखाने अभियान बढ्दो छ ।

प्रदर्शनमा ४० भन्दा बढी कलाकृति (पेन्टिङ) प्रदर्शन गरिएका थिए, जसले पूर्ण शाकाहारका विभिन्न आयाम—पाल्तु र वन्य जनावरको दुःखदेखि लिएर मानव गतिविधि र जलवायु परिवर्तनका प्रभावसम्म—चित्रण गरेका थिए । सबै कलाकृतिमा जनावर र पृथ्वीप्रति मानव सम्बन्धबारे आत्मचिन्तन, करुणा र संवादको आह्वान थियो । प्रदर्शनमा राखिएका चित्रहरूको कार्यक्रममै बढाबढमा बिक्रीसमेत गरिएको थियो। चित्रकला बेचेको रकम प्राणी कल्याणका लागि प्रयोग हुने बताइयो।
संगीत, नृत्य, प्रस्तुति र शाकाहारसम्बन्धी प्रदर्शनीले कार्यक्रमलाई सिर्जनात्मक बनाएको थियो । अहिंसा एक्टिभिस्टहरूको संगम बनेको थियो कार्यक्रम। लभिङ हार्ट भिगन रेस्टुरेन्ट, द ह्वाइट लोटस भिगन क्याफे र भिगन फुड एन्ड बेभरेज हाउसजस्ता स्थानीय रेस्टुरेन्टका शाकाहारी खाद्य स्टलहरूले सहभागीहरूलाई स्वादिष्ट वनस्पतिजन्य भोजनको अनुभव दिएका थिए ।

कार्यक्रममा ‘आर्ट र एक्टिभिजम्’ शीर्षकको प्रभावशाली प्यानल छलफल पनि चलाएको थियो, जहाँ जसले विभिन्न खालका कलाक्षेत्रः मञ्च कसरी करुणा र जनावर अधिकार प्रवर्द्धनका माध्यम बन्न सक्छन् भन्नेबारे विचार(विमर्श गर्‍यो । यसका प्रमुख वक्तामध्ये थिए, कृष्ण गुरुङ– जो आफैँ नेपालका थोरै प्राणी अधिकार अभियन्तामध्ये एक हुन् । अहिंसाका पक्षमा गीत रचेका उनी कुशल ग्राफिक डिजाइनरसमेत हुन् । उनी हाल जनावरहरूको कथालाई उजागर गर्ने छोटो डकुमेन्ट्रीमा काम गर्दै छन् । कार्यक्रममा गुरुङले आफ्नो झन्डै तीन दशकको पूर्ण शाकाहारी यात्राबारे उल्लेख गरे ।

नेपाल भिगन ग्यालरीका संस्थापकसमेत रहेका परम्परागत थाङ्का कलाकार रवि थापाले प्यानल डिस्कसनमा बताए, ‘दया धर्तीको अमूल्य निधी हो । यसलाई जगाउन सके संसार झनै सुन्दर हुनेछ ।’

मल्टीडिसिप्लिनरी आर्टिस्ट अविशमान शाक्यले कार्यक्रममा बोल्दै अहिंसा र शाकाहारको पक्षमा सक्दो प्रयास सबैले गर्नुपर्ने बताए । अभिनेत्री सरिता राजोपाध्यायले काजु, बदाम र भटमासबाट सहजै दही दूध बनाएर खान सम्भव रहेको बताइन् । भनिन्, ‘सिक्दै र खाँदै जाँदा वनस्पतिको दही दूध झनै मिठो हुन थाल्यो ।’

प्यानलका अतिरिक्त, ‘शाकाहार तर्काधार नामक ‘ग्राउन्डब्रेकिङ’ पुस्तकका पुस्तकका लेखक रघु आदित्यले शाकाहारको दर्शन र नैतिक जीवनशैलीको महत्वबारे कार्यक्रममा विशेष प्रस्तुति दिए । कार्यक्रममा बोल्दै उनले भने, ‘समाजमा आत्मविश्वासका साथ बोल्दा जेसुककै पनि सहजै बिक्ने र सत्य फैलाउनचाहिँ कठिन छ। तर सत्यको पक्षमा हामी बोलिरहनुपर्छ। अहिंसा सत्य र सत्मार्ग हो ।’

नेपाल भिगन ग्यालरी तीन वर्षयता निरन्तर एक सिर्जनात्मक मञ्चको रूपमा विस्तार हुँदै आएको छ । कलालाई सहानुभूति र करुणासँग जोड्दै सबै प्रजातिको शोषणमुक्त विश्वको कल्पना गर्न मानिसलाई उत्प्रेरित गर्छ । सो कार्यक्रम सफल पार्न उत्पला क्याफे, थ्राइभ फिलान्थ्रोपीले सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?