मुस्ताङ । यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो ।
कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए ।
उनका अनुसार ती स्थानमा सडक संरचनासहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौँ स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडक खण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।
त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ ।
यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनले सो सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताए ।
यसअघि बिहीबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम–कागबेनी सडक अवरुद्ध भएको थियो । यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया