बञ्चरेडाँडाको अनुगमनमा मन्त्री घिसिङ, फोहोर संकट समाधानको प्रयास तीव्र

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएपछि सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन् ।

उपत्यकाका सडकहरूमा फोहोर थुप्रिँदै दुर्गन्ध फैलिएको अवस्थाले दैनिक जनजीवन प्रभावित भइरहेका बेला मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनका अधिकारीहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्दै स्थलको अवलोकन गरेका हुन् ।

सरकारले यो अनुगमनलाई उपत्यकामा उत्पन्न फोहोर संकटको दिगो समाधान खोज्ने प्रयासको रूपमा लिएको छ ।

काठमाडौं उपत्यकाबाट दैनिक करिब १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ । सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता घट्दै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलका रूपमा विकास गरिएको थियो । तर, पछिल्ला वर्षहरूमा यस स्थलसँग सम्बन्धित पूर्वाधार अभाव, स्थानीय असन्तुष्टि र वातावरणीय असरका कारण फोहोर व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।

मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया र वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका थिए। स्थानीयहरूले फोहोर विसर्जनका कारण पानीका मुहानहरूमा असर, स्वास्थ्य जोखिम, माटो प्रदूषण र सडक अवरोधजस्ता समस्या पहिल्याउँदै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

२०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू रोकिँदा उपत्यका भर फोहोर थुप्रिएको थियो । अहिले पनि त्यस्तै अवस्था दोहोरिएको छ। २०८० मा भएको एक अध्ययनले बञ्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानी प्रदूषित भएको देखाएको थियो, जसले स्थानीय किसानको कृषि उत्पादनमा प्रतिकूल असर पारेको छ ।

विगतमा स्थानीय र सरकारले १८ बुँदे सहमति गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेपछि स्थानीयहरू पटक–पटक विरोधमा उत्रँदै आएका छन्। असोज २०८२ मा भएको पछिल्लो छलफलमा पनि सहमति नजुट्दा फोहोर विसर्जनमा पुनः अवरोध उत्पन्न भएको थियो।

अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर व्यवस्थापन प्रणालीलाई दिगो र जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै, ‘फोहोर छुट्याउने प्रक्रिया कडाइका साथ लागू गर्न र स्थानीयहरूसँग भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिइएको’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?