धनुषामा बस-अटो ठोक्किँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

लोकपथ
189
Shares

काठमाडौं । धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा भएको दुर्घटनामा ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतकहरू एउटै परिवारका सदस्य रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई उपचारका लागि जनकपुरधामस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?