‘जेनजी आन्दोलन संस्थागत नयाँ जनादेशबाट मात्रै हुन्छ’

लोकपथ
175
Shares

काठमाडौं । जेनजी आन्दोलनका अभियान्ताहरुले आन्दोलनलाई दीगो र संस्थागत बनाउन अब निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘जेनजी विद्रोह र अबको बाटो’ शीर्षकको कार्यक्रममा सहभागी वक्ताहरूले जेनजी आन्दोलनको वैचारिक र राजनीतिक आधारलाई सुदृढ गर्न निर्वाचनको माध्यमबाट जनमत लिनु जरुरी भएको धारणा राखे ।

कार्यक्रममा जेनजी प्रतिनिधि सांसद अहमदले समाजमा व्यापक रूपमा फैलिएको भ्रष्टाचार, बेरोजगारी र सामाजिक विभेद नै भदौ २३ गतेको जेनजी विद्रोहको मूल कारण भएको बताए । उनले भने, ‘जेनजी विद्रोहलाई संस्थागत गर्ने बाटो भनेको अबको चुनाव हो, जसले नयाँ पुस्ताको जनादेशलाई वैध रूप दिनेछ ।’

उनका अनुसार केही प्रतिनिधिहरूले निर्वाचनलाई भाँड्ने प्रयास गरिरहे पनि आन्दोलनलाई दीगो बनाउन सबैले चुनावमा सहभागी हुनुपर्ने आवश्यकता देखिएको छ ।

त्यस्तै, जेनजी प्रतिनिधि मोनिकाले नेपालमा युवाहरूलाई आफ्नो भविष्य सुरक्षित गर्न पनि देश बाहिरिन बाध्य पार्ने अवस्था सत्तामा बसेका भ्रष्ट र कुशासक नेतृत्वकै कारण उत्पन्न भएको बताइन् । उनले भनिन्, ‘राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीय अन्यायलाई सत्ताधारी वर्गले संस्थागत गरेकाले युवाहरू निराश बनेका छन् र त्यसकै प्रतिफल हो जेनजी विद्रोह ।

प्रतिनिधिहरूले भदौ २३ मा भएको राज्यद्वारा गरिएको दमनकै कारण भदौ २४ को घटना घटेको उल्लेख गर्दै भदौ २४ लाई मात्र उचालेर जेनजीहरुको बलिदानीलाई दबाउन खोजिएको आरोप समेत लगाएका छन् ।

वक्ताहरूका अनुसार जेनजी आन्दोलन अब केवल प्रतिवादको चरणमा नभई संस्थागत रूप लिने निर्णायक मोडमा पुगेको छ, जसको मार्गदर्शन जनताको मतले हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?