कांग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छ : विश्वप्रकाश शर्मा

लोकपथ
308
Shares

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भन्ने अनुमान कसैले गर्न नहुने बताएका छन् ।

पार्टीको महाधिवेशनको मिति र निर्वाचन प्रक्रिया सम्बन्धी विवाद चर्किरहेको समयमा महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँगको संवादमा उनले भने, ‘नेपाली कांग्रेस भित्र फरक फरक मत विगत, वर्तमान र भविष्यमा पनि रहन्छन् । त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने कुरा हो। पार्टी परिपक्व र जिम्मेवार छ, त्यसैले समयसापेक्ष निर्णय गर्ने क्षमता राख्छ ।’

महाधिवेशनको मिति निर्धारणबारे महामन्त्री शर्माले चार विकल्प प्रस्ताव गरेका छन् । उनले भने, ‘मंसीरमा महामन्त्री गगन थापाको प्रस्तावअनुसार गर्न सकिन्छ, नभए केन्द्रीय समितिले बोलाउने विशेष अधिवेशन वा महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत हस्ताक्षरको आधारमा गर्ने । अर्को विकल्प भनेको आगामी पुस १६, १७, १८ र १९ गते विपी कोइरालाको मेलमिलाप नीतिको समय पारेर महाधिवेशन गर्ने हो।’

उनले महासमिति सदस्यहरूको रायलाई निर्णयको आधार बनाउने सम्भावनामा जोड दिँदै डिजिटल भोटिङ मार्फत देशभरका प्रतिनिधिहरूको सहभागितालाई सुनिश्चित गर्ने प्रस्ताव पनि राखेका छन् ।

महामन्त्री शर्माले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरलाई अवमूल्यन गर्न नहुने र पार्टी भित्रको विविध विचारलाई मध्यनजर गर्दै निर्णय गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उनले पार्टीको इतिहासको उदाहरण पनि दिँदै भने, ‘भदौ २३ र २४ को घटनापछि पार्टीले पहिलो वक्तव्य जारी गर्‍यो, जुम बैठक राख्यो र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय सार्वजनिक गर्‍यो । यसले देखाउँछ कि नेपाली कांग्रेस जिम्मेवार ढंगले देशको राजनीति हेर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?