जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग

लोकपथ
6.3k
Shares

काठमाडौं । नेकपा (एमाले) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले भैरहवामा निधन भएका उपाध्यक्ष गौतमलाई ‘श्रमिकहरूको महान शहीद’ का रूपमा मान्यता दिनुपर्ने बताएका हुन् ।

जिफन्टका उपाध्यक्ष समेत रहेका ६५ वर्षीय गौतमको गत बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि धर्ना कार्यक्रमका क्रममा भाषणकै बीचमा निधन भएको थियो ।

अध्यक्ष श्रेष्ठले भने, ‘५० हजारभन्दा बढी मजदुरका हकहितका लागि आवाज उठाउँदा ज्यान गुमाउने कमरेड कमल गौतम ती फटाहा, चोरहरुभन्दा महान शहीद हुन् ।’

उनले हालको जेन–जी आन्दोलन र सरकारको रवैयाका कारण हजारौँ श्रमिक रोजगारी गुमाउने अवस्थामा पुगेको आरोप लगाए । उद्योगी र सरकारबीचको टकरावको मार श्रमिकमाथि नपरोस् भन्दै उनले सरकारलाई आन्दोलनको वास्तविक कारण समाधान गर्न आग्रह गरे ।

श्रेष्ठले थपे, ‘सरकारले जेनजी आन्दोलनका माग पूरा गर्नुपर्नेमा लोकप्रियतावादमा फसेको छ । आन्दोलनको नाममा लुटपाट गर्ने र आगजनी गर्नेहरूलाई शहीद भनिन्छ भने, श्रमिकको पक्षमा बोल्दै ज्यान गुमाउने कमरेडलाई पनि सरकारले शहीदको सम्मान दिनुपर्छ ।’

उनले श्रमिक अधिकारका लागि जिफन्टले निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?