काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा हिमपातका कारण अलपत्र परेका १३ जना आन्तरिक तथा विदेशी पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज बिहानै ६ बजे उद्धार कार्य सम्पन्न गरिएको हो । उद्धार गरिएका मध्ये ११ जना नेपाली र २ जना चिनियाँ नागरिक रहेका छन् ।
पहिलो जानकारीअनुसार बेस क्याम्पमा १५ जना (१३ नेपाली र २ चिनियाँ) पर्यटक अलपत्र परेको खबर प्राप्त भएको थियो । तर उद्धार टोली पुगेपछि १३ जना मात्र फेला परेका सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त फौज र मेडिकल टोली खटाइएको थियो ।
उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छिन् भने एक पुरुषको खुट्टामा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ । साथै सबैमा अक्सिजनको स्तर कम रहेको पाइएको र उनीहरूलाई आवश्यक उपचारका लागि सुरक्षित स्थानमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया