काठमाडौं । अग्रज कम्युनिष्ट नेता मोहनविक्रम सिंहले जेनजीको कुनै एजेण्डा नै नरहेको टिप्पणी गरेका छन् ।
रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रबार उनले यस्तो बताएका हुन् ।
उनले जेनजीका नाममा अहिले धेरै मागहरु आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताए । उनले कसैले पूर्ण समानुपातिक भन्ने गरेपनि केहीले त्यसको विरोध गरेको बताए ।
जेनजीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदा समेत विरोध भएको बताए । जेनजी कुनै संगठित समूह नभइ भीड मात्रै भएको टिप्पणी गरे ।
उनले भने, ‘अहिले जेन जीका नाममा कयौँ मागहरु आइरहेका छन् । कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेका छन् । कसैले यसमा विरोध गरेका छन् । कसैले पूर्ण समानुपातिक भनेका छन् । जेन जीको एउटै समूह छैन । जेन जीको कुनै नीति छैन । २५ वटा समूह छन् । उनीहरुबीच नै एकता छैन । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए, नाराबाजी भयो । मन्त्री बनाउँदा विरोध हुन्छ । जेनजी भनेको कुनै संगठित समूह होइन, यो भीड हो । कुनै नारा छैन । जेनजीको कुनै नारा नै छैन ।’
उनले तत्काल वाम एकताको अवस्था नरहेको जिकिर गरे । संसदलाई अवैधानिक रुपमा विघटन गरिएको बताए । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया