काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन गर्ने अभूतपूर्व तयारी रहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता घिमिरेले आगामी मंसिर मसान्तभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिए । यदी नियमित महाधिवेशन नहुने भए आफूहरुले विशेष महाधिवेशनका लागि अभूतपूर्व तयारी गरिरहेको समेत दाबी गरे ।
‘१५ औँ महाधिवेशन मंसिरभित्र गरौं,नत्र बिशेष महाधिवेशनले पर्खिरहेको छ,जसरी पनि हुन्छ है ! हाम्रो अभूतपूर्व तयारी छ,’ उनले भनेका छन् ।
उनले दुई दिनभित्र बहुमतको सरकार ढल्नेदेखि संसद विघटन हुनेसम्मका गतिविधि भएको उदाहरण दिँदै सबैले परिस्थिति बुझेर अघि बढ्नुपर्ने चेतावनी समेत दिए । राजनीतिक दल र नेताहरुले काम बिगारेका कारण नै अहिलेको परिस्थिति आएको भन्दै समयमा नै त्यसको बेगलाई बुझ्न आग्रह गरे ।
‘दुई दिनमा बहुमतको सरकार ढल्यो र संसद रहेन । यसको अर्थ, महत्त्व र प्रभाव सबैले बुझेकै छौँ । समयको आवश्यकता,दबाव र पदचापलाई बुझेकै छौं,नागरिकका भावना थाहा छदैछ । हामीले हिजो काम बिगारेकै छौं,बारम्बारको बिश्वास तोडेकै छौं। अझै किन र के को घिडघिडो हो ?,’ उनले भने ।
त्यसो त जेनजी आन्दोलनपछि कांग्रेसमा तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको छ । मंसिरको अन्तिम सातासम्म नियमित महाधिवेशन हुन नसकेमा विशेष महाधिवेशनमा जानुपर्ने आवाज समेत उठिरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देशभरका महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान नै चलाए । जसबाट ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।
हस्ताक्षर अभियानको नेतृत्व उनै गुरुराजले गरिरहेका छन् । गुरुराजकै नेतृत्वमा आइतबार हस्ताक्षरमा संलग्न विशेष महाधिवेशन पक्षधरहरुको भेला बोलाइएको छ । साथै यदी आइतबारसम्म पनि महाधिवेशनको कार्यतालिका नआएमा सोमबारबाट पार्टी कार्यालयमा धर्नादेखि अनसनसम्मको तयारी उक्त समूहले गरिरहेको छ ।
यता कांग्रेसको जारी केन्द्रीय समिति बैठक समेत बस्न सकेको छैन । आजका लागि बोलाइएको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुने वा नहुने भन्ने विषयमा विवाद चर्किँदा बैठक नै आइतबारसम्मका लागि स्थगित गरिएको छ । यता महामन्त्री थापाले आजैको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका थिए । तर कार्यवाहक सभापति खड्काले सहमति नदिएपछि भने आजको बैठक नै बस्न नसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया