रसुवा । पर्यटकीय स्थलका रूपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् ।
दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ । गोसाईंकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबिच रमाइरहेको जानकारी दिए ।
खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खानबस्न कुनै समस्या नभएको लाङटाङ पदमार्गका व्यवसायीले बताएका छन् ।
यसैबिच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङटाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुनेहुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुट जुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
तपस्वी बाबा विजयका अनुसार समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड क्षेत्रमा अहिले छ इन्च बाक्लो हिमपात भएको भएको छ । गोसाईंकुण्ड जाने बाटोमा पर्ने लौरी विनायकसम्म हिमपात भएको र विशेष गरी आन्तरिक तथा धार्मिक पर्यटकहरू त्यस क्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया