काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा थप कठिनाइ थपिएको छ ।
नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस चलिरहेका बेला संस्थापन र इतर पक्षबिचको रस्साकस्सी थप पेचिलो बनेको हो ।
बिहीबारबाट कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सुरु भएको छ । तर बिहीबारको बैठकमा महामन्त्री गगन थापा उपस्थित भएनन् । मंसिरको अन्तिम नभए पुसको दोस्रो सातासम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्ने तयारीमा महामन्त्री थापा रहेका छन् । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यसमा सहमति नदिएपछि महामन्त्री थापाले बैठक बहिस्कार गरेका हुन् ।
यता यसअघि नै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर नै बुझाइसकेका छन् । तर संस्थापन पक्षले भने पार्टीभित्र बिग्रह ल्याउन उक्त काम गरिएको भन्दै आक्षेप लगाउन खोजेपछि भने विशेष महाधिवेशन पक्षधरले भने थप दबाब बढाउन खोजिरहेको छ । विशेष महाधिवेशनका लागि हस्तक्षर अभियानको अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेला नै बोलाएर थप दबाब बढाउन खोजेका हुन् । घिमिरेको अगुवाईमा विशेष महाधिवेशन पक्षधरको भेला आइतबारका लागि काठमाडौंमा बोलाइएको गगन निकट एक नेताले लोकपथलाई जानकारी दिए ।
‘आइतबारका लागि हामीले दबाबस्वरुप भेला बोलाएका छौँ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको अबमूल्यन हुन दिन त भएन नि ! यदी संस्थापनले यसैगरी हेपेर जाने, विधानको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिहरुले गरेको हस्ताक्षरलाई नजरअन्दाज गर्ने हो भने हामी त्यसमा चुप लागेर बस्दैनौँ,’ उनले भने ।
त्यति मात्र होइन आइतबारसम्म तोकिएको समयमा नियमित महाधिवेशन र सम्भव नभए विशेष महाधिवेशनको खाका नआए सोमबारदेखि पार्टी कार्यालयमा अनसनसम्मका कार्यक्रमहरु हुने ती नेताको दाबी छ । उनका अनुसार सोमबारबाट सानेपास्थित पार्टी कार्यालय, शीर्ष नेताहरुको निवासमा समेत धर्ना र दबाब दिने गरी आफूहरु अघि बढ्ने तयारी रहेको उनले बताए ।
‘आइतबारसम्म केही न केही निष्कर्ष निस्किएला, महाधिवेशन प्रतिनिधिहरुको मागको सुनुवाई होला, नभए पार्टी कार्यालयदेखि नेताका घरसम्म हामी धर्ना दिने, अनसन बस्नेसम्मका गतिविधि गर्छौँ,’ उनले भने ।
विधानतः कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न हुनुपर्नेछ । तर वर्तमान कार्यसमितिको म्याद थप एक वर्ष थप गर्न सकिने विधानको व्यवस्था रहेका कारण संस्थापन पक्षले भने म्याद थप गरेर बरु राष्ट्रिय निर्वाचन पछि मात्रै महाधिवेशन गर्न माग गरिरहेको छ । यता महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने तत्काल नियमित महाधिवेशन गर्ने नभए विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न लाग्नुपर्नेमा जोड दिँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया