नयाँ राजनीतिक शक्तिहरुसँग संवाद बढाउँदै रास्वपा

लोकपथ
203
Shares

काठमाडौं । वैकल्पिक राजनीतिक धारका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ राजनीतिक शक्तिहरुसँग संवाद बढाउने भएको छ ।

खासगरी जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिवेशमा नयाँ शक्तिहरुसँग संवाद बढाउने सोचमा रास्वपा पुगेको हो ।

रास्वपाले शुक्रबार सोही अनुसार नयाँ शक्तिहरुसँग संवाद अघि बढाउन बैठक नै आह्वान गरेको छ ।
पार्टी उपसभापति एवं उच्च संवाद समितिका संयोजक समेत रहेका डा. स्वर्णीम वाग्लेले विज्ञप्ति जारी गर्दै नयाँ शक्तिहरुलाई वार्तामा आउन आह्वान गरेका हुन् ।

प्रवास र स्वदेशमा रहेका नेपाली जनताले आशा र अपेक्षा गरेका नयाँ राजनीतिक शक्तिहरु, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबिच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने सम्भावना रहेको भन्दै रास्वपाले संवाद अघि बढाउन लागेको जनाएको छ ।

‘गत तीन वर्षको संघर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर भइरहेका पहलहरुलाई एकरुपता दिने हाम्रो सदिच्छा पनि छँदैछ । प्रवास र स्वदेशका आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरु, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबिच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि आयोजनाहुने ‘‘वृहत् राजनीतिक संवाद’’ कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछौँ,’ वाग्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त रास्वपाले वृहत् राजनीतिक संवादका तीन उदेश्यहरु समेत स्पष्ट पारेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको संवाद बालुवाटारस्थित नेपाल हाउसमा केही बेरमा सुरु हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?