काठमाडौं । अविरल वर्षापछि देशभरका मुख्य सडक पहिरो र बाढीका कारण अवरुद्ध भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावले विशेष गरी कोशी प्रदेशमा अत्यधिक वर्षा भई विपद् बढ्ने सम्भावना रहेको छ ।
उक्त जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने इलाम खण्ड भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सङ्खुवासभाको भोटखोला–४ बरुणखोला क्षेत्रमा बाढीले ह्युम पाइप बगाएपछि कोशी राजमार्ग गत जेठदेखि नै बन्द रहेको छ । यसले खाँदबारीदेखि थुमसुरसम्म यातायात पूर्ण रूपमा ठप्प पारेको छ ।
रुकुम पूर्वको मध्य पहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र अन्तर्गत जोमसोम–कोरोला सडक खण्डमा छुसाङ र ताङवेबीच कालाभिर क्षेत्रमा आएको लेदो र पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।
त्यस्तै म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा पहिरो आएपछि बेनी–दरवाङ सडक खण्ड बन्द भएको छ । बीपी राजमार्गका विभिन्न स्थानमा समेत सवारी सञ्चालन अवरुद्ध भएको जनाइएको छ ।
पाँचथरको तुम्वेवा–२ र धनकुट्टाको चौबिसे–४ सिमानामा तमोर–कोरिडोर सडक बाढीका कारण बन्द छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ सिमानामा रहेको सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडक खण्डका विभिन्न स्थान र सिन्धुलीको गोलन्जोर–६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्ग पनि पहिरोका कारण अवरुद्ध छन् ।
यसैगरी पाँचथरको याङवरक–३ र रामेछापको खाँडादेवी–१ खैरेनीघाटस्थित मध्य पहाडी लोकमार्गमा पनि सडक पूर्ण रूपमा बन्द भएको प्राधिकरणले जनाएको छ ।
विभागले अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेकाले पहिरो जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया