काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र नियमित र विशेष महाधिवेशन दुवै सम्भावनाबारे मिश्रित कुरा आइरहेको बताएका छन् ।
आजबाट पुनः सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै डा. महतले सो कुरा बताएका हुन् ।
पार्टीभित्र विशेष महाधिवेशनको समेत कुरा जोडतोडले उठिरहेको बताउँदै त्यसले युवा पुस्तालाई पार्टीमा नजोड्ने समेत दाबी गरे ।
‘हामी महाधिवेशनमा नै गइराखेका छौँ । नियमित महाधिवेशनले नयाँ पुस्तालाई जोड्छ तर विशेष महाधिवेशनले त त्यो सम्भावना रहँदैन । अहिले साथीहरु जो बोलिरहनुभएको छ, सबैले महाधिवेशनमा नै जाने कुरा गरिरहनुभएको छ,’ उनले भने ।
त्यस्तै जारी केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशन राष्ट्रिय निर्वाचन अघि गर्ने वा त्यो भन्दा पछि गर्ने भन्ने बहस समेत भइरहेको बताए । त्यसमध्ये अधिकांश नेताहरुले निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने कुरामा जोड दिँदै आइरहेको समेत दाबी गरे ।
‘१५औँ महाधिवेशनको तयारीमा जाने तर राष्ट्रिय निर्वाचन भन्दा पहिले जाने कि पछि जाने भन्ने कुरामा मात्रै मतभिन्नता हो । तर अधिकांश साथीहरु पहिले राष्ट्रिय निर्वाचनमा जाऔँ, सम्पूर्ण पार्टी त्यसमा केन्द्रित होऔँ, र त्यसपछि हाम्रो आन्तरिक निर्वाचन वा महाधिवेशनमा जाने कुरा गर्नुभएको छ,’ उनले भने ।
त्यस्तै सरकारले फागुन २१ का लागि तोकेको निर्वाचनमा जाने वातावरण तयार नभएको समेत जिकिर गरे । जनतामा शान्ति सुरक्षाको प्रत्याभूती गराएर मात्रै निर्वाचनमा जानुपर्ने बताए ।
फरक प्रशंगमा डा. महतले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भएको त्रीपक्षीय वार्तामा सरकारले विभिन्न काण्डको फाइल खोल्ने कुरा नगरेको समेत दाबी गरे । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरुबिच छलफल भएको थियो । वर्तमान सरकार गठन भएपछि पहिलोपटक त्रीपपक्षीय छलफल हुँदा प्रधानमन्त्री कार्कीले विभिन्न काण्डका फाइल खोल्ने अडान राखेको बाहिरिएको थियो । तर पूर्वमन्त्री समेत रहेका महतले भने आफू बैठकमा रहँदासम्म प्रधानमन्त्रीले सो कुरा नबताएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया