‘पुस मसान्तभित्र कांग्रेसको १५औँ महाधिवेशन गर्नेगरी अघि बढ्ने तयारी’

लोकपथ
350
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्ने विषय पेचिलो बनेको छ ।

विधानको व्यवस्था अनुसार आगामी मंसिरको अन्तिम सातासम्म आगामी १५औँ महाधिवेशन गनुपर्ने हुन्छ । तर विधान अनुसार नै नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउन सक्ने प्रावधान रहेको छ । तर आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको संस्थापनले भने समयावधि थप गरेर भए पनि नियमित महाविधेशन नै गर्न जोड दिँइरहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने तोकिएकै समयमा म्याद नथपी नियमित महाधिवेशन गर्ने नभए विशेष महाधिवेशनमा जानुपर्ने अडान कायम राखिरहेका छन् ।

आजबाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकमा समेत मिश्रित धारणा आइरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

पार्टी कार्यालय सानेपामा जारी बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले सकेसम्म नियमित महाधिवेशन गर्ने नभए विशेष महाधिवेशनमा जानुपर्ने धारणाहरु विकसित भइरहेको बताए । यता ५४ प्रतिशत १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरुले भने विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर नै बुझाइसकेका छन् ।

यता नेता पौडेलले भने विधानको व्यवस्था अनुसार नै महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइएको र उनीहरुको समेत भावना समेटिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए ।

यदी विधानको व्यवस्था अनुसार केन्द्रीय समितिको म्याद थपेर अघि जाने हो भने केन्द्रीय समितिको मात्र नभइ महाधिवेशन प्रतिनिधिहरुको पनि म्याद थपिने भन्दै ५४ प्रतिशत मतको कदर गर्दै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।

‘५४ प्रतिशत साथीहरुले हस्ताक्षर गरेर विशेष अधिवेशनको माग अघि सार्नु भएको छ । त्यो विशेष अधिवेशनको माग राखेर जुन विषय दर्ता भएको छ, त्यो विधान बमोजिमकै विषय हो, त्यो जबरजस्ती गरिएको विषय होइन । विधानभित्र महाधिवेशन प्रतिनिधिहरुले पाएको अधिकार प्रयोग गरेर उहाँहरुले विशेष महाधिवेशनको माग गरेर यहाँ दर्ता गर्नुभएको छ । यदी नियमित अधिवेशन गर्ने हो भने माग बमोजिम विशेष अधिवेशन गर्नु पर्दैन । नियमित अधिवेशन नगरेर म्याद थप गर्ने हो भने त्यतिबेला केन्द्रीय कार्यसमितिको मात्र म्याद थपिँदैन । जसले विशेष महाधिवेशनको माग अघि सार्नुभएको उहाँहरुको पनि म्याद थपिन्छ,’ उनले भने ।

त्यसो त पार्टीभित्र संस्थापन पक्षले भने समय थप गरेर नियमित महाधिवेशनमा जानुपर्ने अडान कायम गरिरहेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुटको भेला बोलाएर नेताहरुसँग छलफल समेत गरिरहेका छन् । कतिपयले पार्टीभित्र भाँडभैलो ल्याउन महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएको समेत आरोप लगाइरहेका छन् । तर नेता पौडेलले भने विधानको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको र ४० प्रतिशतको ठाउँमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नै विशेष महाधिवेशनको माग गरेको बताए । उनका अनुसार मंसिरको १४ गतेबाट विभिन्न तहको अधिवेशन सुरु गरेर पुसको मसान्तभित्र १५औँ महाधिवेशन गर्नेगरी काम अघि बढिरहेको दाबी गरे ।

‘मंसिरको २४ गतेभित्र वडा अधिवेशन गर्ने, मंसिरको १४ गतेबाट सुरु गरेर पुसको मसान्तसम्म महाधिवेशन सक्ने यही नै नेपाली कांग्रेसको अहिलेको समाधान हो । नेपाली कांग्रेसले निर्वाचनमा जानका लागि गर्नुपर्ने काम नै यही हो । हामीले त्यही कुरा गरिरहेका छौँ, त्यही कुराभइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?