बीपी राजमार्गमा आज र भोलि राति गाडी चलाउन नपाइने

लोकपथ
336
Shares
फाइल तस्बिर

काठमाडौं । बीपी राजमार्ग आज र भोलि दुई दिन राति बन्द हुने भएको छ । भारी वर्षाको सम्भावना रहेको भन्दै दुई दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सूचना जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राजमार्ग बन्द गराएको हो । 

सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले वर्षात् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि सो निर्णय गरिएको जनाएको छ ।

उक्त अवधिमा बीपी राजमार्गको खुर्कोट बजार, सिन्धुली जिल्लाबाट काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । साथै, दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने प्रशासनको सूचनामा जनाइएको छ ।

बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?