बिल पास गर्न एक लाख घुस लिएका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

लोकपथ
273
Shares

काठमाडौं । सडक स्तरउन्नतीको अन्तिम भुक्तानी गर्न एक लाख घुस रकम लिएका एक वरिष्ठ लेखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

दैलेखको डुंगेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीले सडक स्तर उन्नतिको कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । अख्तियारले केही समय अगाडि कार्कीलाई एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अधिकृत सातौँ तहमा कार्यरत कार्कीले गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै जाने सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रिया अगाडि बढाइदिने, प्रक्रियाको सहजीकरण गरिदिने भनी घुस रकम माग गरेका थिए । सो को उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

कार्की विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरी बिगो बराबरकै जरिवाना र एक वर्ष कैद सजायको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?