जंगलभित्र लगेर कारमा आगजनी, चालक फरार

लोकपथ
2.2k
Shares

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज (बिहीबार) बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । 

मेची राजमार्ग अन्तर्गतको चारआली-चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जंगलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । 

कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । उनले भने, ‘जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

आगजनीमा परेको कारलाई सडकबाट जंगलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए । चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । आगजनीपछि कार चालक फरार भएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?