‘शेयर बजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक छ’

लोकपथ
84
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् ।

नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उनले शेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् ।

बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको ऊर्जा पनि कायम राख्ने गरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिबद्धता जाहेर गरे । नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजी बजारसँग जोडिएको उनको भनाइ छ ।  

उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयर बजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल शेयर बजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।

कार्यक्रममा शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा शेयरलगानीकर्ताहरु संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरिएको बताए । उनकाअनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्‍याउन संघले महत्त्वपूर्ण भूमिका खेलेको छ । 

कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर सेयर बजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिँदा आफूहरु संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए ।  

उनले शेयरबजारका एजेण्डाहरु बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?