काठमाडौं । आठ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्नका लागि भारतले अनुमति नवीकरण गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि प्रस्ताव गरेको थियो । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विक्री गरिरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत विक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मंगलबारबाट लागू हुनेगरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।
यसै गरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत विक्री भइरहेको थियो । हरियाण राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन-अक्टोबरमा हरियाणलाई विद्युत विक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत विक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि विक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत शुक्रबारबाट आइएक्समा समेत निरन्तर रुपमा विक्री गर्न पाउने भएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनआइएसएको आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरे । उनले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएका प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया