‘प्रचण्ड र माधव नेपालले नेतृत्व छाडे मात्रै माओवादीसँग एकता सम्भव छ’

लोकपथ
490
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दोस्रो तहका नेताको हातमा नेतृत्व आए मात्रै माओवादीसँग एकता सम्भव रहेको दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बिहीबार बोल्दै पूर्वमन्त्री समेत रहेका भुसालले आफ्ना पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाडेमा मात्रै पार्टी एकता हुनसक्ने बताए ।

दुई नेताहरुले नेतृत्व छाडेमा मात्रै आफूहरुले पार्टी एकताको वातावरण बनाउन सक्ने बताउँदै आफूले प्रचण्डलाई समेत सो कुरा भनेको बताए । यसअघि पनि पुरानै नेताहरुलाई नेतृत्व तहमा राखेर कम्युनिष्ट पार्टीहरुको एकीकरण गर्दा एकता टिक्न नसकेको बताए । विचार, पार्टीको झण्डा र नाम मिल्दैमा एकता गरिहाल्ने परिपाटीले नै एकतामा धोका सुरु हुने उनको तर्क छ ।

‘तपाईँहरूले (प्रचण्ड र माधव नेपाल) ले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ । मैले प्रचण्डलाई पनि त्यही भनेको छु, अन्यथा झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा धोका हुन्छ । हिजो पनि एकताबाट धोका सुरु भएको हो,’ उनले भने ।

बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा पदाधिकारीहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

कतिपय नेताहरुले माओवादीसँगको एकताको विषयमा असन्तुष्टि जनाइरहेका छन् । तर दोस्रो तहका नेताहरुले भने सर्तसहित माओवादीसँग एकता गर्न सकिने समेत बताउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?