धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका-५, गोलढुंगा फूलबारी गेट नजिक धारिलो हतियार देखाउँदै लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली, दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार, गएराति तारकेश्वर-५ गोलढुंगा फूलबारी गेट नजिक गोकणेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२-०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको बेलामा बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा सवार घलान र चौधरीले धारिलो हतियार देखाएर तामाङको कालो झोला लुटेका थिए।

 प्रहरी वृत बालाजुबाट खटिएका वरिष्ठ हवल्दार जीवन बुढाथोकी र सहायक हवल्दार कृष्णबहादुर बस्नेतले पीडितको बयान तथा हुलियाको आधारमा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट छानबिन गर्दै लुटिएको झोला, लुटपाटमा प्रयोग भएको मोटरसाइकल र आरोपित दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट बा प्र ०२–०५० प १६०२ नम्बरको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एक थान, नगद तीन हजार, खुकुरी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान, बोबो लेखिएको  कालो रङको झोला एक थान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा ४२ प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरेको जनाएको छ ।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई सोधपुछ सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?