राष्ट्रपति पौडेल ‘दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन दोहा जाँदै

लोकपथ
245
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन् । सो औपचारिक भ्रमणका लागि उहाँ कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । तीस वर्षपछि हुन लागेको यो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको बताइएको छ ।

सम्मेलनकै क्रममा राष्ट्रपति पौडेल र कतारका अमिर बिच भेटवार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि सो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो भने यस पटक कतारले आयोजनाको जिम्मा लिएको हो ।

सम्मेलनमा विश्वले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन, प्रविधिको प्रभाव र सामाजिक रूपान्तरणजस्ता विषयमा गहन छलफल हुने कार्यक्रम रहेको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धता जाहेर गर्ने लक्ष्य लिएको छ ।

संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य बनेको नेपाल शान्ति, स्थायित्व र सामाजिक विकासका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहँदै आएको छ । राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्मा नेपालको प्रतिनिधित्व पनि रहेको छ ।

विश्व शान्तिका लागि सबैभन्दा बढी शान्ति सैनिक पठाउने राष्ट्रको सूचिमा नेपाल हाल पहिलो नम्बरमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल कात्तिक २० गते कतार भ्रमण सकेर स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?