काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी र लुटपाटमा संलग्न रहेको समूहका पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीका २८ वर्षीय राज लामा, उदयपुरका २० वर्षीय दुर्ग बहादुर मगर, रामेछापका ३२ वर्षीय दिल बहादुर बिक, बागलुङका ४० वर्षीय गोबिन्द सुनार र कैलालीका २२ वर्षीय दिपेस रसाइली रहेका छन् ।
प्रहरीका अनुसार राज लामा र दुर्ग बहादुर मगर मोटरसाइकलमा सवार भई महिलाको गहना तानेर भाग्ने कार्यमा संलग्न थिए भने दिल बहादुर बिक, गोबिन्द सुनार र दिपेस रसाइली चोरी गरिएका सुन किनबेच गर्ने कार्यमा संलग्न थिए ।
उनीहरूले २०८२ साल असोज ८ गतेदेखि कात्तिक १ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा गरी करिब १२ तोला सुन चोरी र लुटपाट गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलहरूमा ललितपुरको नख्खुडोल, बुद्धचोक, र काठमाडौंको नागार्जुन, रामकोट, थापाचोक र बालाजु आसपासका क्षेत्रहरू रहेका छन् ।
प्रहरीले उनीहरूको कोठाबाट मोबाइल, सिम कार्ड, मोटरसाइकल, चालक अनुमति पत्र लगायतका सामग्री बरामद गरेको छ ।
साथै, सल्लाघारीस्थित श्री लक्ष्मी ज्वेलर्सबाट ३ लाख ८८ हजार ५ सय नगद, कुलेश्वरबाट ६४ लाल तौलका ४ थान सुनका ढिक्का र कपनस्थित बागलुङ कालिका ज्वेलर्सबाट ७ तोला ४८ लाल बराबरको सुन र १ लाख ६६ हजार चोरी गरिएको नगद समेत बरामद गरिएको हाे ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया